विकासमा मन्थली नगरपालिकाको फड्को : अधिकांश योजना सम्पन्न

विकासमा मन्थली नगरपालिकाको फड्को : अधिकांश योजना सम्पन्न

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक अवधिसम्म सम्पादन भएका कामको समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

सार्वजनिक सुनुवाइमा नगरपालिकाले हालसम्म भएका विकास निर्माण, सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनका उपलब्धिहरू सार्वजनिक गरेको हो। प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले १ बर्षभरीको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

प्रस्तुत विवरणअनुसार नगरपालिकाबाट सञ्चालन भएका ६०२ योजनामध्ये ५४४ योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएका छन्। तीमध्ये ५२४ योजनाको कार्य सम्पन्न भई भुक्तानी भइसकेको छ भने ३२९ योजनाको सम्झौता भई कार्यादेश जारी गरिएको जानकारी दिइएको छ।

यस्तै, ठेक्का प्रक्रियाबाट सञ्चालित ३२ आयोजनामध्ये ३० वटा सम्पन्न भएर भुक्तानी भइसकेको छ भने २ वटा आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी क्रमागत रूपमा राखिएको नगरपालिकाले जनाएको छ।

वडा पूर्वाधारतर्फ यस वर्ष वडा नं. ९ को कार्यालय भवन सम्पन्न भएसँगै नगरपालिकाका १४ वडामध्ये १२ वटा वडा कार्यालय आफ्नै नयाँ भवनबाट सञ्चालन भइरहेको बताइएको छ ।

नगरपालिकाले २५ लाख रुपैयाँभन्दा माथिका सबै आयोजनाहरू बोलपत्र (टेन्डर) प्रक्रियाबाट कार्यान्वयन गर्ने नीति लाई निरन्तरता दिएको जनाएको छ।

त्यसैगरी, नक्सा पास तथा बस्ती विकासतर्फ चालु आर्थिक वर्षमा ४ वटा नक्सा पास इजाजत, ६ वटा सुपरस्ट्रक्चर इजाजत, २ वटा निर्माण सम्पन्न प्रमाणपत्र तथा ७ वटा अभिलेखीकरण गरिएको जानकारी सार्वजनिक सुनुवाइमा दिइएको छ।

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको लागि स्वीकृत पूँजिगत बजेटको ७२ प्रतिशत खर्च गरेको छ । चालु तर्फ भने ९० प्रतिशत बजेट खर्च भएको मन्थली नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक बर्षका लागि नगरसभाबाट स्वीकृत १ अर्व ४ करोड ६५ लाख ६४ हजार बार्षिक बजेटमा ८९ करोड ४३ लाख ७ हजार रुपैयाँ खर्च भई कुल वित्तिय प्रगति ८५ प्रतिशत हासिल भएको छ । मन्थली नगरपालिकाले बार्षिक स्वीकृत बजेट पुरै खर्च गर्न नसकेपछि आय तर्फ भने लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको छ । नगरपालिकाले बार्षिक आन्तरिक आय ४ करोड २३ लाख ५५ हजार हुने अनुमान गरेकोमा यो आर्थिक बर्षमा ४ करोड २८ लाख १५ हजार आन्तरिक आय गर्न सफल भएको हो ।

कार्यक्रममा नगर प्रमुख लब श्रेष्ठ , उपप्रमुख इश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणका विषयमा जिज्ञासा राखेका थिए भने नगर नेतृत्वले उठेका प्रश्नहरूको जवाफ दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार