सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा वित्तीय गतिविधिबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवाहको समीक्षा गर्दै नागरिकको सुझाव, गुनासा र जिज्ञासा सुन्न सार्वजनिक सुनुवाई आयोजना गरेको हो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, शाखा प्रमुख, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाईका क्रममा गाउँपालिका सूचना अधिकारी एवं सुचना प्रविधि अधिकृत सुविरराज कार्कीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, सुशासन तथा प्रशासनिक सेवा प्रवाहका क्षेत्रमा आर्थिक वर्षभरि सम्पन्न भएका प्रमुख कार्यहरूको विवरण प्रस्तुत गर्नुभएको थियो । साथै विकास निर्माणमा भएको प्रगति, बजेट कार्यान्वयनको अवस्था, राजस्व संकलन तथा सार्वजनिक स्रोतको उपयोगबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीले विकास निर्माणको गुणस्तर, सडक तथा खानेपानी व्यवस्थापन, कृषि सेवा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा वितरण, कर्मचारीको सेवाप्रवाह लगायतका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। उठाइएका प्रश्नको गाउँपालिका अध्यक्ष शंकराज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बरालले जवाफ दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
गाउँपालिकाले सार्वजनिक सुनुवाईले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


