बेरुजु सुधारमा गोकुलगंगा अब्बल, खाँडादेवीमा सबैभन्दा बढी

बेरुजु सुधारमा गोकुलगंगा अब्बल, खाँडादेवीमा सबैभन्दा बढी

रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक अनुशासन र बेरुजु सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ ।

महालेखा परीक्षकको कार्यालय ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार गोकुलगंगा गाउँपालिकाले आफ्नो बेरुजु घटाएर १ प्रतिशतभन्दा कममा झारेको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३.७५ प्रतिशत रहेको बेरुजु गत आर्थिक वर्षमा घटेर ०.५३ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाको १ अर्ब २५ करोड ९२ लाख ३५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६६ लाख ७६ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

रामेछापका अन्य दुई स्थानीय तह सुनापती गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिका ले पनि बेरुजु घटाउन सफलता हासिल गरेका छन् । सुनापती गाउँपालिकाको अघिल्लो आर्थिक वर्ष २.३२ प्रतिशत रहेको बेरुजु घटेर ०.८८ प्रतिशतमा पुगेको छ भने दोरम्बा शैलुङ गाउँपालिकाले १.३० प्रतिशतबाट घटाएर ०.९६ प्रतिशतमा झारेको छ ।

महालेखाको प्रतिवेदनअनुसार सुनापती गाउँपालिकामा १ करोड ११ लाख ९१ हजार रुपैयाँ तथा दोरम्बा शैलुङ गाउँपालिकामा १ करोड ३१ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यता जिल्लाका पाँच स्थानीय तहमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा बेरुजु बढेको छ । तीमध्ये खाँडादेवी गाउँपालिका मा सबैभन्दा बढी २.७७ प्रतिशत बेरुजु देखिएको छ । गाउँपालिकाको ४ करोड २१ लाख ५६ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा खाँडादेवीको बेरुजु १.८६ प्रतिशत मात्रै थियो ।

त्यस्तै उमाकुण्ड गाउँपालिका को बेरुजु पनि बढेर १.६० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ०.८० प्रतिशत रहेको गाउँपालिकाको बेरुजु गत आर्थिक वर्ष २ करोड ६ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।

यससँगै खाँडादेवी गाउँपालिका रामेछाप जिल्लाकै सबैभन्दा बढी बेरुजु हुने पालिका बनेको छ भने उमाकुण्ड दोस्रो स्थानमा परेको छ ।

त्यसैगरी मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका र रामेछाप नगरपालिका को पनि बेरुजु अघिल्लो वर्षको तुलनामा बढेको छ ।

मन्थली नगरपालिकाको अघिल्लो वर्ष ०.३४ प्रतिशत रहेको बेरुजु बढेर ०.८७ प्रतिशत पुगेको छ । त्यहाँ २ करोड ८ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ । लिखु तामाकोशी गाउँपालिकाको बेरुजु ०.७८ प्रतिशतबाट बढेर ०.८२ प्रतिशत पुगेको छ भने १ करोड १० लाख ८४ हजार रुपैयाँ बेरुजु कायम भएको छ ।

त्यस्तै रामेछाप नगरपालिकाको बेरुजु ०.५० प्रतिशतबाट बढेर ०.६२ प्रतिशत पुगेको छ । नगरपालिकामा १ करोड १६ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार