रामेछापको गोकुलगंगा गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका व्यक्तिहरूलाई ३५ दिनभित्र अतिक्रमण हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मन्थली,रामेछापको पत्राचारका आधारमा सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो सूचना जारी गरिएको जनाएको छ। सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउने प्रक्रिया अघि बढाइएको छ।
गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अतिक्रमण हटाइसक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, नेपाल राज्यभित्र अन्यत्र कुनै जग्गा जमिन नभएका वास्तविक सुकुम्बासीहरूले भने १५ दिनभित्र गाउँपालिका कार्यालय वा सम्बन्धित वडा कार्यालयमा नागरिकताको प्रतिलिपिसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको जनाएको छ।
निर्धारित समयसीमाभित्र अतिक्रमण नहटाए प्रचलित कानुनअनुसार संरचना हटाउने कार्य अघि बढाइने चेतावनी समेत गाउँपालिकाले दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा जारी सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थित उपयोगका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।



