रामेछाप— रामेछाप जिल्लाको उद्योग वाणिज्य क्षेत्रको साझा संस्था रामेछाप उद्योग वाणिज्य संघको १५औँ वार्षिक साधारणसभा बिहीबार मन्थलीमा भव्यताका साथ सम्पन्न भएको छ ।
संघका अध्यक्ष नवीन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले वर्तमान लोकतान्त्रिक व्यवस्थामा विचार, चाहना र आकांक्षामा विविधता हुनु स्वाभाविक भए पनि साझा लक्ष्यतर्फ सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले उद्योग वाणिज्य संघभित्र प्रवेश गर्नु अघि सबै पक्षलाई समेटेर अघि बढ्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
“संघभित्र निर्वाचित भइसकेपछि सबैलाई समान दृष्टिले हेरी पक्षपातरहित ढंगले काम गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “त्यसले मात्रै संस्थागत विश्वसनीयता र समन्वय बलियो बनाउँछ ।”
कार्कीले कृषकका उत्पादनको बजारीकरणमा संघ, स्थानीय तह र राजनीतिक दलबीच प्रभावकारी समन्वय हुनुपर्ने उल्लेख गर्नुभयो ।
उत्पादन भएका वस्तुहरूको उचित मूल्य र बजार सुनिश्चित गर्न निरन्तर पहल भए पनि अपेक्षित परिणाम नआएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । आगामी दिनमा निजी क्षेत्रलाई समेट्दै उत्पादन, प्रशोधन र बजार विस्तारमा ठोस कार्यक्रम ल्याउनुपर्ने उहाँको सुझाव थियो ।
विशिष्ट अतिथि तथा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले स्थानीय उत्पादनको समुचित व्यवस्थापन र बजार विस्तार बिना आर्थिक समृद्धि सम्भव नभएको धारणा राख्नुभयो। उहाँले जिल्लाभरि उत्पादन हुने खाद्यान्न, तरकारी, दूध तथा औद्योगिक वस्तुहरूको यथार्थ विवरण संकलन गरी आत्मनिर्भरता कति महिनासम्म सम्भव छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “अभाव भएका वस्तु मात्रै बाहिरबाट आयात गर्ने रणनीति अपनाएमा स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन हुन्छ,” उहाँले भन्नुभयो ।
श्रेष्ठले प्रतिस्पर्धी बजारमा बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुको कारण लागत र मूल्य व्यवस्थापन रहेको उल्लेख गर्नुभयो । “तराईबाट आएको गोलभेँडा सस्तो पर्छ भने स्थानीय उत्पादन महँगो हुनुको कारण खोज्नुपर्छ,” उहाँले थप्नुभयो, “एकअर्कालाई दोष दिनुभन्दा साझा जिम्मेवारी वहन गरेर समाधान खोज्नुपर्छ।” साथै, बजारमा बढ्दो मूल्यवृद्धिबारे पर्याप्त छलफल नभएको उल्लेख गर्दै त्यसको नियन्त्रण र नियमनमा स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै दिगो आर्थिक विकास सम्भव हुने बताउनुभयो । विगतमा सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारी लगायतका संकटमा निजी क्षेत्रले ठूलो क्षति बेहोरे पनि अर्थतन्त्रमा निरन्तर योगदान दिँदै आएको उहाँले स्मरण गर्नुभयो ।
“निजी क्षेत्रले कर तिरेर राज्यप्रति आफ्नो दायित्व पूरा गर्नुका साथै उपभोक्ता, किसान र उत्पादकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ,” उहाँले भन्नुभयो । थापाले उद्योग वाणिज्य संघका गतिविधिहरूमा सरकारी निकायको सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सार्वजनिक–निजी साझेदारीलाई सुदृढ गर्दै आर्थिक गतिविधिलाई गतिशील बनाउनुपर्ने उहाँको धारणा थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमसागर थापा, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार तथा उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


