प्रादेशिक अस्पताल रामेछाप अस्पतालमा एम.डि.जि.पि र बाल रोग विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। विशेषगरी भिडियो एक्सरे सहित जटिल प्रकारको प्रसूती सेवा समेत रोकिएको छ भने बालबालिका तथा सामान्य रोगका बिरामीहरूले समयमै विशेषज्ञ सेवा नपाउँदा उपचारका लागि बाहिरका अस्पताल धाउनुपर्ने बाध्यता बढेको छ । अस्पतालमा एक महिनादेखी बाल रोग विशेषज्ञ र एम.डि.जि.पि चिकित्सक छैन्न ।
गर्भवती महिलाहरु भिडियो एक्सरे सेवाकै लागि सदरमुकाम स्थित मन्थली अस्पताल जान बाध्य छन । रामेछाप नगरपालिका ७ का अमेश कार्कीले गर्भवती श्रीमतीलाई भिडियो एक्सरे सेवाको लागि मोटरसाईकलमा मन्थली अस्पताल लगेर ल्याएको बताउनुभयो । भौतिक संरचना अनुसार अस्पतालले सेवा दिन नसकेको उहाँको गुनासो छ ।
अस्पतालमा नवजात शिशु तथा बालबालिकाको उपचारमा समेत समस्या भइरहेको छ । विशेषज्ञ चिकित्सकको अभावमा सामान्य तथा जटिल रोगको प्रारम्भिक उपचार र व्यवस्थापनमा समेत कठिनाइ भइरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन । यसले आकस्मिक सेवा समेत प्रभावित बनेको छ ।
जटिल प्रकृतिका बिरामीहरू आएमा धुलिखेल, काठमाडौं लगायतका ठूला अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ । यसका कारण बिरामीका आफन्तले थप आर्थिक भार व्यहोर्नुपरेको छ भने समयमै उपचार नपाउँदा जोखिम पनि बढेको छ ।
स्थानीय सेवाग्राहीहरूले रामेछाप अस्पतालमै आधारभूत तथा विशेषज्ञ सेवा नपाउँदा निराशा व्यक्त गरेका छन्। रामेछाप नगरपालिका ७ का सुवाश थापाले सामान्य जाँचदेखि बच्चाको उपचारसम्मका लागि पनि बाहिर जानुपर्ने बाध्यता आएको बताउनुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. सागर जर्घामगरका अनुसार आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सम्बन्धित निकायमा बारम्बार अनुरोध गरिएको छ । सिन्धुलीको दुधौली अस्पतालबाट एम.डि.जि.पि डाक्टरको रामेछाप अस्पतालमा सरुवा भैसकेको भएपनि उहाँहालसम्म पनि रामेछाप अस्पतालमा आउनुभएको छैन ।
अन्य विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न बागमती प्रदेश स्थित स्वास्थ्य मन्त्रालयमा पहल भैरहेको नि.मेसु डा. सागर जर्घामगरले बताउनुभयो । रामेछाप अस्पतालमै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सरोकारवालाले यथाशीघ्र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न माग गरेका छन्।


