गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापका ७ उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा ३ स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
निर्वाचन परिणामअनुसार मंगोल नेशनल पार्टीका विनोद घिसिङ र नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठले समान ५६ मत प्राप्त गरेका छन्। नेशनल रिपब्लिक नेपालका यमबहादुर मोक्तानले ७५ मत पाउँदा आम जनता पार्टीका पदमबहादुर तामाङले ३६ मत मात्रै ल्याए।
त्यस्तै स्वतन्त्र उम्मेदवार अरुण कार्कीले ९८, बाबु काँजी खड्काले २२ र सन्तोष घिमिरेले ६१ मत प्राप्त गरेका छन्। यी सातै उम्मेदवारले १०० मतको सीमा पार गर्न सकेनन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार तीन दलका उम्मेदवारले २०० मतसमेत कटाउन सकेनन्। राष्ट्रिय जनमोर्चाका अर्जुनबहादुर थापा मगरले १६१ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका वीरेन्द्र श्रेष्ठले ११५ मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का यमुनबहादुर बस्नेतले १५६ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरे तामाङले ५४३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङ्गी मगरले १ हजार ३३६ मत पाएका छन्।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. कृष्णहरि बुढाथोकी विजयी भएका छन्। आइतबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले २४ हजार ८०८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेललाई ७ हजार १९९ मतान्तरले पराजित गरे। ढुङ्गेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गरेका छन्। यसैगरी नेपाल कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाउँदा उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २१० मत प्राप्त गरेका छन्।


