राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले आफ्ना कार्यकर्तामाथी एमालेका कार्यकर्ताले हातपात गरेको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार(आज) उम्मेदवारको मनोनयन दर्ताका क्रममा आयोजित शान्तिपूर्ण ¥याली तथा कार्यक्रमको बेला अवाञ्छित गतिविधि भएको रास्वापाको आरोप छ। पार्टीका अनुसार कार्यक्रमकै क्रममा नेकपा एमालेका केही व्यक्तिहरूबाट असहिष्णु व्यवहार देखिनुका साथै भौतिक आक्रमण गर्ने उद्देश्यले हातपातसमेत भएको घटना घटेको बताइएको छ ।
घटनाप्रति गम्भीर दुःख र चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्ला समितिले लोकतान्त्रिक अभ्यास भइरहेको समयमा यस्ता गतिविधिले राजनीतिक संस्कार, आपसी सम्मान र सामाजिक सद्भावमाथि आघात पुगेको जनाएको छ।
पार्टीले लोकतन्त्र, अहिंसा, सहिष्णुता र विधिको शासनप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै राजनीतिक दल, कार्यकर्ता तथा आम नागरिकलाई धैर्यता, संयमता र परस्पर सम्मानका साथ आफ्ना विचार र कार्यक्रम प्रस्तुत गर्न आग्रह गरेको छ।
साथै, यस्ता निन्दनीय घटना पुनः नदोहोरियोस् र निर्वाचन प्रक्रिया स्वच्छ, शान्त र मर्यादित रूपमा अघि बढोस् भन्ने मागसमेत गरिएको छ। यस घटनाबारे सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै शान्तिपूर्ण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले सबै पक्षलाई लोकतन्त्रको मर्यादा कायम राख्न हार्दिक अपिल समेत गरेको छ।



