रामेछापको रामेछाप नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम औपचारिक रूपमा लागु गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रम लागु भएसँगै जनप्रतिनिधि तथा शाखा प्रमुखहरुलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको हो । सामी कार्यक्रमका जिल्ला संयोजक दिपक के.सी ले अभिमुखीकरणमा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने कानुनी प्रक्रिया, सम्भावित जोखिम, मानव बेचबिखनको अवस्थाबाट बच्ने उपाय, श्रमिकको हकअधिकार तथा सेवासुविधाबारे जानकारी गराउनुभयो ।
साथै उहाँले वैदेशिक रोजगारको अवस्था र सामीले गरेका कामहरुको बारेमा पनि बताउनुभयो । २०७७ देखी २०८१ सालसम्म रामेछापका ३० हजार १ सय जना युवाहरु वैदेशिक रोजगारीमा गएका छन । विदेश जाने युवाहरुमा परुषको संख्या बढि रहेको छ । २३ हजार ७ सय ६२ जना पुरुष र ६ हजार ३ सय ३८ जना महिला विदेश गएको तथ्यांक रहेको जिल्ला संयोजक के.सी ले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/८२ मा मात्रै रामेछापका २९ सय ५६ जना महिला,१६ सय ६१ जना पुरुष गरी ४६ सय १४ जना युवाहरुले पासर्पोट बनाएको तथ्यांक रहेको छ ।
कार्यक्रममा मन्थली नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दिपक सुवेदीले वैदेशिक रोजगारसँग सम्बन्धित ऐन,कानूनहरुको बारेमा जानकारी गराउनुभयो । आप्रवासी श्रोत केन्द्र मन्थलीकी परामर्शकर्ता सुनिता श्रेष्ठले पासर्पोट बनाउन आएकालाई पराशर्म प्रदान गरेको,परदेशमा समस्यामा परेकालाई सहजीकरण गरी स्वदेश फिर्ता गरिएको जस्ता वैदेशिक रोजगारसँग सम्बन्धित विविध विषयमा जानकारी गराउनुभयो ।
रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले सुरक्षित आप्रवासन कार्यक्रमले स्थानीय तहमा वैदेशिक रोजगारी सम्बन्धी सूचना, परामर्श र सहजीकरणलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सामी कार्यक्रममार्फत आप्रवासी श्रमिक र उनका परिवारलाई आवश्यक सेवा उपलब्ध गराई जोखिम न्युनिकरण गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख बाल कमारी कार्कीले नगरका वैदेशिक रोजगारीमा जाने कुनै पनि युवाहरुले समस्या भोग्न नपरोस र उनिहरुको वैदेशिक रोजगारलाई सुरक्षित बनाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले विदेश गएका युवाहरुले पठाएको पैसाबाटै देश बाँचिरहेको भन्दै व्यस्थित र भरपर्दो वैदेशिक रोजगारीका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बाउनुभयो । उहाँले परदेश जान लागेका युवाहरुलाई बढी भन्दा बढी परामर्श प्रदान गर्न सामीका कर्मचारीहरुलाई आग्रह पनि गर्नुभयो ।
रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीले ढिलै भएपनि नगरपालिकामा सामी कार्यक्रम लागु भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले अब काजगमा भन्दा व्यवहारमा केन्द्रित जनशक्ति उत्पादन गर्न नगरपालिका लाग्ने बाउनुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले सुरक्षित आप्रवासनका विषयमा प्राप्त जानकारीले समुदायमा सचेतना फैलाउन सहयोग पुग्ने बताएका छन् । सामीले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सुरक्षित, व्यवस्थित र जानकारीमूलक सेवा प्रदान गर्ने जनाएको छ । रामेछापको खाँडादवी बाहेकका सबै पालिकाहरुमा यो कार्यक्रम संचालनमा रहेको छ ।


