रामेछाप नगरपालिकाको चालू आव २०८२/८३ को पहिलो चौमसिक अवधिसम्म जम्मा बजेटको १४ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईंले सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म भएको काम र बजेट खर्चको अवस्था बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार चालू तर्फ ११ करोड ३३ लाख ९५ हजार ३४ रुपैयाँ अर्थात २१.८७ प्रतिशत र पूँजीगत तर्फ ५७ लाख ६४ हजार ८ सय २४ रुपैयाँ अर्थात १.७३ प्रतिशत बजेट खर्च भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियहरुले शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,विपद व्यवस्थापन लगायतमा रहेर प्रश्न गरेका थिए । नागरीकको प्रश्नहरुमा रहेर ५ बँुदे प्रतिबद्धताहरु व्यक्त गरिएको छ । प्रतिबद्धताहरुमा वडा कार्यालय लगायत रामेछाप नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा कर्मचारीहरु कार्यालय समयमा पोशाक सहित नियमित रुपमा उपस्थित भई सेवा प्रवाह गर्ने,.राष्टपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षितगरी छ्ट्टै खेलकुद शिक्षक व्यवस्थापन नहुन्जेलसम्मको लागि सबै माविका खेलकुद शिक्षकहरुलाई तालिम दिई प्रशिक्षकको व्यवस्था मिलाईने,बाँदर आतंक नियन्त्रणका लागि आवश्यक पहल गरि वैकल्पिक उपायको खोजि गरिन,सबै स्वास्थ्य संस्थाको नियमित अनुगमनगरी निशुल्क वितरण गर्नुपर्ने औषधिहरु वितरणको प्रवन्ध मिलाउने र स्वास्थ्य चौकि गोठगाउँको नवनिर्मित भवन यथासक्य छिटो हस्तान्तरण गरि÷लिई गुणस्तरीय स्वास्थ्य उपचार सेवाको प्रबन्ध मिलाउने रहेको छ । वडा नं १ गोठगाउँमा भएको एकिकृत घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य,पशु,कृषि,योजना सम्झौता लगायतका सेवाहरु प्रवाह गरिएको हो ।
नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई र सम्बन्धित वडाका वडाअध्यक्षले दिएका थिए । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की,पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे ,रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,माओवादी केन्द्रका नेता मोतिलाल तामाङ्ग,नेकपा एमालेका नगर सचिव माधव ढकाल र नेपाली कांग्रेसका नगर सभापति कमल विक्रम कार्कीले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरुले नगरले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने बताउनुभयो ।
हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रवक्ता समिर कार्की,वडाअध्यक्षहरु, नगरका कर्मचारी,पत्रकार,नागरीक लगायतको उपस्थिती रहेको थियो ।



