रामेछापको मन्थली नगरपालिकाले बाल श्रमको अनुगमन गरी आज विश्व बाल दिवस मनाएको छ ।
जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले आज “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बाल श्रमको अनुगमन गरी विश्व बाल दिवसको मनाएको हो ।
मन्थली नगरपालिकाको सहयोगमा नमुना मन्थली नगर बाल सञ्जाल र १ नं. वडा बाल सञ्जालको संयुक्त आयोजनामा भएको बाल श्रम अनुगमन कार्यक्रममा मन्थली बजार क्षेत्रका होटल व्यवसाय, डेरी, वर्कशप लगायतका व्यवसायिक पसलहरुमा पुगेर बालबालिकालाई श्रममा लगाए नलगाएको बारेमा अनुगमन गरिएको हो ।
बिहान नगरपालिकाको कार्यालयमा जम्मा भई दुई समुहमा विभाजन गरेर मन्थली आकाशेदेखि भैसेश्वरसम्मको बजार क्षेत्रका करिब २४ वटा पसलहरुमा पुगेर बालश्रमको अनुगमन गरिएको थियो । अनुमगनका क्रममा अधिकांश पसलहरुमा बालबालिकालाई श्रममा नलगाएको पाइएको मन्थली नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख रमेश प्रसाद सुबेदीले बताउनुभयो ।
केही पसलहरुमा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाएको पाइए पनि जोखिमयुक्त काममा भने नलगाएको पाइएको उहाँले बताउनुभयो । उनीहरुको हकमा सम्बन्धित पसल सञ्चालकलाई पत्राचार गरी त्यसबारे थप अध्ययन गरेर अघि बढ्ने उहाँको भनाई छ ।
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, उप–प्रमुख ईश्वरी वस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र उप–सचिव हेमन्त बुढाथोकीको नेतृत्वमा भएको बाल श्रम अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यायलयका प्रतिनिनिधि, जिल्ला प्रहरी कार्यालयको र जिल्ला बाल सङ्गठन, सेतो गुराँस राष्ट्रिय बालविकास सेवा र हिमाली नवीन समाजका प्रतिनिधि, नगर बालमैत्री सहजकर्ता र बालबालिकाहरुको समेत सहभागिता रहेको थियो । बिहान ८ बजेबाट शुरु भएको अनुगमन कार्यक्रम १० बजे सम्पन्न भएको थियो ।


