मन्थली नगरपालिकाको १४ वटै वडामा ‘वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन’

मन्थली नगरपालिकाको १४ वटै वडामा ‘वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन’

रामेछापको मन्थली नगरपालिकाको १४ वटै वडामा वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ । कात्तिक १६ गतेदेखि २८ गतेसम्म नगरका सबै वडाहरुमा वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा अभिमुखीकरण सम्बन्धी १ दिने कार्यशाला सञ्‍चालन गरी समिति गठन गरिएको हो ।

२०७७ सालमा नेपाल सरकार राष्ट्रिय योजना आयोगले प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७७-२०८८ प्रकाशित गरेको थियो । २०७७ मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले यो रणनीतिलाई स्वीकृत गरेको थियो । सोही रणनीतिको अनुसूची ४ बमोजिम नगरभिका १४ वटै वडामा वडा अध्यक्षको अध्यक्षतामा कम्तीमा ९ सदस्य रहने गरी वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको मन्थली नगरपालिकाका बालविकास संयोजक नवराज विश्‍वकर्माले बताउनुभयो ।

नेपालका सरकारले जनाएको प्रतिबद्धताअनुसार सबै बालबालिकाहरुलाई प्रारम्भिक बालविकास सम्बन्धी सेवाहरु सहजताका साथ उपलब्ध गराई उनीहरुको बाँच्न पाउने, संरक्षण, विकास र सहभागी हुन पाउने अधिकारलाई सुनिश्‍चित गराउने उद्देश्यले यो समिति गठन गरिएको बालविकास संयोजक विश्‍वकर्माले बताउनुभयो । दिगो विकासका १७ वटा लक्ष्य मध्ये ११ वटा लक्ष्य प्रारम्भिक बालविकाससँग सम्बन्धित रहेको उल्लेख गर्दै उहाँले सोही लक्ष्यअनुसार गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक सेवा सुनिश्‍चिता गराउन यो समितिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

साथै समितिले बालबालिकाको सर्वाङ्गीण विकासको लागि उनीहरुको उमेरानुसारको सेवा सुनिश्‍चितता गर्ने, सबै बालबालिकालाई स्वास्थ्य, पोषण, सुरक्षा, संरक्षण, शिक्षा र खानेपानी तथा सरसफाई सम्बन्धी सबै सेवाहरु एकीकृत रुपमा प्रदान गराउने सवालमापरिवार तथा समुदायको संलग्‍नता र जिम्मेवारी अभिवृद्धि गराउनको लागि समेत काम गर्ने उहाँको भनाई छ । सरकारले २०८८ सम्ममा गर्भावस्थादेखि आठ वर्षसम्मका सबै बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकासको अवसर सुनिश्‍चित गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले सोही लक्ष्यलाई भेटाउने गरी यो समितिले आगामी दिनमा काम गर्नुपर्ने पनि बताउनुभयो ।

वडा अध्यक्षहरुको अध्यक्षतामा भएको कार्यशालामा सहभागीहरुलाई प्रारम्भिक बालविकासको अवधारणा, प्रारम्भिक बालविकासको पक्ष, तत्वहरु, महत्व, फाइदा र प्रारम्भिक बालविकास राष्ट्रिय रणनीतिले तय गरेका वडास्तरीय प्रारम्भिक बालविकास समितिको काम, कर्तव्य र अधिकारबारेमा अभिमुखीकरण गराइएको थियो । जसको सहजीकरण बालविकास संयोजक नवराज विश्‍वकर्माले गर्नु भएको थियो । कार्यशालामा वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्य, शिक्षा, कृषि, पशु, महिला, बालबालिका तथा समाज कल्याण शाखाअन्तर्गतका कर्मचारी, वडा नागरिक समुहका संयोजक, महिला स्वास्थ्य स्वयंसेविका, बालसञ्‍जालका प्रतिनिधि लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समझदारीअनुसार मन्थली नगरपालिकासँगको सहकार्यमा चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा सञ्‍चालित इसिडी हार्मोनी परियोजनाअन्तर्गत कार्यशालाको आयोजना गरिएको थियो । परियोजनामार्फत सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले प्रारम्भिक बालविकास केन्द्रको लाग आवश्यक भित्री सामाग्रीहरु कार्पेट, चकटी, कुर्सी, पिफर्म, किडबक्स, सिकाई कुना र्याक वितरण गरेको छ भने बाहिरी सामाग्रीअन्तर्गत पिङ, चिप्लेटी, क्लाइम्बर र चाकाचुली लगायतका खेल सामाग्री वितरण गरेको छ । त्यसैगरी अभिभावक शिक्षा, शिक्षक तालिम, विद्यालय घेराबार लगायतका काम पनि गरेको छ । साथै नगरको १४ वटै वडाअन्तर्गतका विद्यालयका प्रारम्भिक बालविकास केन्द्र हेर्ने गरी १०जना इसिडी मेन्टर नियुक्त गरी संस्थाले प्राविधिक सहयोग समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार