रामेछापको रामेछाप नगरपालिकाको ९ वटै वडाहरुमा ‘वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन‘ गरिएको छ । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ,वडा नं २ देउराली,वडा नं ३ साँघुटार,वडा नं ४ हिमगंगा,वडा नं ५ रामपुर,वडा नं ६ ओख्रनी,वडा नं ७ सुकाजोर,वडा नं ८ रामेछाप र वडा नं ९ ल्याङल्याङमा समिति गठन गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समझदारी अनुसार रामेछाप नगरपालिकासँगको सहकार्यमा चाइल्ड एड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा सञ्चालित “इसिडी हार्मोनी परियोजना“मार्फत नगरको सबै वडाहरुमा सम्बन्धित वडाका वडाअध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको हो ।
‘गर्दै गरौँ लगानी बाटो, कूलो, पुल, भवन र मन्दिरमा, थप गरौँ लगानी प्रारम्भिक बालविकास’ भन्ने मूल नाराका साथ सम्बन्धित वडा कार्यालयको आयोजनामा सञ्चालित समिति गठन तथा कार्यशालामा सहभागीहरुलाई प्रारम्भिक बालविकासको परिचय, अवधारणा, महत्व, प्रारम्भिक बालविकाससँग सम्बन्धित एकीकृत सेवा प्रवाहको बारेमा अभिमुखीकरण गरिएको थियो । त्यसैगरी “प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७७–२०८८“बारेमा समेत अभिमुखीकरण गराइएको रामेछाप नगरपालिकाका बालविकास संयोजक सरोज श्रेष्ठले जानकारी दिनुभयो ।
“राष्ट्र निर्माण र दिगो विकासको जग मानिका भविष्यका कर्णधार बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि आवश्यक लगानीको प्रवद्र्धन गराउने, प्रारम्भिक बालविकाको परिचय, अवधारणा र महत्वबारे सम्बन्धित सरोकारवाला तथा जिम्मेवार पक्षलाई जानकारी गराउने र वडास्तरमा प्रारम्भिक बालविकास समिति गठन गर्ने हेतुले कार्यशालाको आयोजना गरिएको बालविकास संयोजक श्रेष्ठले बताउनुभयो ।
कार्यशालामा सम्बन्धित वडाका वडा अध्यक्ष तथा वडा सदस्य, आमा समुहका अध्यक्ष तथा प्रतिनिधि, बाल सञ्जालका अध्यक्ष वा प्रतिनिधि, वडाका विषयगत शाखाका प्रमुख, वडा सचिव, बालमैत्री सहजकर्ता, वडा शिक्षा समितिका प्रतिनिधि,वडा नागरिक समुहका अध्यक्ष तथा प्रतिनिधि,महिला स्वास्थ्य स्वयंमसेविका, इसिडी मेन्टर लगायतको सहभागिता रहेको थियो ।
सबै वडाहरुमा भएको कार्यशालामा बालविकास संयोजक श्रेष्ठले प्रारम्भिक बालविकासको परिचय, अवधारणा, महत्व, प्रारम्भिक बालविकाससँग सम्बन्धित एकीकृत सेवा प्रवाह र “प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७७–२०८८“ बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । त्यसैगरी वडास्तरीय प्रारम्भिक बालविकास समितिको गठन प्रक्रिया र समितिको काम, कर्तव्य र अधिकारका बारेमा समेत उहाँले अभिमुखीकरण गराउनु भएको थियो ।
रामेछाप नगरपालिकाका वडाअध्यक्षहरुले यो समितिले बालबालिकाको क्षेत्रमा प्रारम्भिक बालविकासका क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउने बताएका छन । उनिहरुले प्रारम्भिक बालविकासको क्षेत्रमा काम गर्नको लागि यो समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।


