शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । संस्था सन् २०६९ सालमा स्थापना भई हाल १३ वर्षको सफल यात्रा पूरा गर्दै आएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले गर्नुभयो । उहाँले सहकारीको सफलतामा शेयर सदस्यहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सबै सदस्यप्रति आभार व्यक्त गर्नुभयो । सहकारीको मूल मर्म र सिद्धान्त भन्दा बाहिर गएर व्यक्तिगत स्वार्थमा केन्द्रित प्रवृत्ति देखिनु समस्या भएको बताउँदै उहाँले सहकारी संस्थाको पारदर्शिता र उत्तरदायित्वमा जोड दिनुभयो ।
अध्यक्ष ढुङ्गेलले सहकारी संस्थामा संचालक जति जिम्मेवार हुन्छन्, त्यति नै जिम्मेवार शेयर सदस्यहरू पनि हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार सहकारी संस्था सबैको साझा संस्था भएकाले सबैले आफ्नो जिम्मेवारी इमानदारका साथ निर्वाह गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “हामी सबै एउटै डुंगाका यात्रु हौं, सहकारी डुब्दा सबै डुब्छौं ।”
कार्यक्रमका सभाध्यक्ष छत्रवीर श्रेष्ठले शुभेच्छा सहकारी सदस्यकै हातबाट बनेको समुदायमुखी संस्था भएको बताउनुभयो । उहाँले सहकारीमा अनुशासन, पारदर्शिता र सदस्यको सक्रिय सहभागिता जरुरी रहेको बताउँदै, “सहकारी अरुले बनाएर दिँदैनन्, सदस्य आफैंले बनाउने हो, शुभेच्छा सहकारी त्यसको उदाहरण बनेको छ,” भन्नुभयो ।
श्रेष्ठले सहकारीको प्रारम्भिक अवस्थाबारे जानकारी दिँदै भन्नुभयो, “संस्था दर्ताको क्रममा तत्कालीन मन्थली, कठजोर, भलुवाजोर, भटौली र पकरवासका ५ वटा गाउँ विकास समितिहरूमा रहेका नागरिक समूह, उद्यमी तथा स्वरोजगार समूहका १२५ सदस्यले मासिक १ सयका दरले बचत संकलन गरी १० लाख रूपैयाँ शेयर पूँजीबाट यो संस्था सुरु गरिएको हो ।” १३ वर्षको अवधिमा उल्लेखनीय प्रगति गरेको सहकारीको आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा शेयर पूँजी रु. १ करोड ७१ लाख ९ हजार ९००, बचत रकम रु. ८ करोड १० लाख ८८ हजार ६९४, र कुल सम्पत्ति रु. ११ करोड ६३ लाख ३९ हजार ६३६ पुगेको सभाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाका सचिव रामकुमार श्रेष्ठका अनुसार हाल सहकारीमा महिला १ हजार २४१ र पुरुष १ हजार ६६४ गरी कुल २ हजार ९०५ शेयर सदस्य रहेका छन् । साथै, संस्थागत सदस्य ६ र वालवालिका बचत सदस्य ७०६ जना रहेका छन् । गत आर्थिक वर्षको तुलनामा शेयर सदस्यतर्फ १६.१७ प्रतिशत, संस्थागत सदस्यतर्फ ३३.३३ प्रतिशत र वालवालिका सदस्यतर्फ १८.१३ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो । सचिव श्रेष्ठका अनुसार सहकारीको जगेडा कोषमा रु. १६ लाख १९ हजार ७२७, निक्षेपमा रु. ८ करोड १० लाख ८८ हजार ६९४, र ऋण लगानीमा रु. ८ करोड ९ लाख २० हजार ३२७ रहेको छ ।
कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेफ्स्कुनका सूर्य बहादुर थापा, जनकम्पून कृषि सहकारीका अध्यक्ष उद्धव रम्तेल, ज्ञानज्योती सहकारीका अध्यक्ष रामप्रसाद अधिकारी र पत्रकार महासंघ वागमती प्रदेश सभा सदस्य तथा सञ्चारकर्मी प्रशान्त हायूको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले शुभेच्छा सहकारीको छोटो अवधिमै भएको प्रगतिलाई सराहना गर्नुभएको थियो ।
उनीहरूले सहकारी संस्थाहरूलाई नाफामुखी मात्र नभई उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । “सहकारीले जनताको विश्वास जित्न उत्पादन र स्वरोजगार प्रवद्र्धनतर्फ ध्यान दिनु आवश्यक रहेको उनिहरुको भनाई थियो ।” सभामा उत्कृष्ट कर्मचारीका रूपमा तारा श्रेष्ठलाई सम्मान गरिएको थियो । साथै, असल रिनी, असल बचतकर्ता र असल वाल बचतकर्तालाई पनि सम्मान प्रदान गरिएको थियो । सभाको अन्त्यमा सभाध्यक्ष श्रेष्ठले सबै सदस्य र सरोकारवालालाई सहकारीको पारदर्शिता, अनुशासन र साझा स्वामित्वको भावना सुदृढ गर्न आह्वान गर्नुभयो ।