रामेछाप नगरपालिकाको बार्षिक समिक्षाःवित्तीय प्रगति ८३ दशमलव ०७ प्रतिशत

रामेछाप नगरपालिकाको बार्षिक समिक्षाःवित्तीय प्रगति ८३ दशमलव ०७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८३ दशमलव ०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आईतबारआज) रामेछाप नगरपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले आ.व.२०८१/८२ को अवधिभर संचालन भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो ।

चालु आ.व.मा अनुमानित कुल बजेट रू. ७६ करोड ८८ लाख ६९ हजार ५सय ५१ मध्ये रू. ६३ करोड ८७ लाख ६१ हजार ८ सय ४५ खर्च भएको उहाँले बताउनुभयो । यसमा चालु खर्चतर्फ रू. ५० करोड ५० लाख ४३ हजार ६ सय ६ बजेटमध्ये ८९.४८ प्रतिशत अर्थात् रू. ४४ करोड १८ लाख ५ हजार ८७६ खर्च भएको हो । पुँजीगत खर्चतर्फ रू. २६ करोड ३८ लाख २५ हजार ९४५ मध्ये ७६.६५ प्रतिशत अर्थात् रू. १९ करोड ६९ लाख ५५ हजार ९३८ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताउनुभयो ।

नगरपालिकाको वार्षिक राजश्व संकलन लक्ष्य रू. १ करोड १२ लाख १४ हजार रहेकोमा लक्ष्यभन्दा बढी राजश्व संकलन भएको छ । एक वर्षको अवधिमा रू. १ करोड ३० लाख २६ हजार ४ सय २८ रुपैयाँ राजश्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताउनुभयो । नगरपालिका कार्यालयबाट रू. ६९ लाख ४० हजार ३ सय ६५ रुपैयाँ राजश्व संकलन भएको छ ।

वडा कार्यालय तर्फ सबै भन्दा बढी राजश्व वडा नम्बर ६ बाट संकलन भएको भने सबैभन्दा कम वडा नं १ बाट संकलन भएको छ । वडा नं ६ ले १० लाख २ हजार ४ सय १३ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं १ ले ३ लाख ४० हजार ५६८ रुपैयाँ मात्रै संकलन गरेको छ ।

वार्षिक समिक्षा कार्यक्रममा नगरका विभिन्न शाखाहरुमार्फत भएको प्रगति सम्बन्धित शाखाका प्रमुखहरुले जानकारी गराउनुभयो । साथै बालमैत्री घोषणा कार्यक्रममा भएको खर्चको विवरण समेत सार्वजनिक गरिएको छ ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे, रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,नेकपा एमालेका नगर सचिव माधव ढकाल र नेपाली कांग्रेसका नगर उपसभापति केदार कार्कीले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यता र नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा उपप्रमुख बाल कुमारी कार्की,नगर प्रवक्ता समिर कार्की ,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,वडाअध्यक्षहरु,पत्रकार,नगरपालिकाका कर्मचारी, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार