आत्मपीडा- कविता

आत्मपीडा- कविता

यो हिरासतभित्र म छु
कैद भएर कैँयौ समय
मेरो इन्द्रीयहरुलाई निश्क्रिय र उत्तेजनाहीन
यो स्थितिबाट कुनै बाटोहरुमा
साघुँरो गोरेटोमा अटाइनअटाई
हिँडिरहेको मेरो पाइतालालाई
फगत निरीहताको सम्पूर्ण परिभाषामा
हिर्काउँदै असत्यबीच
मुक्त गर्न चाहन्छु

मुर्खहरुबीच चुपचाप बाँच्नु
असत्यहरुबीच मौनता साँध्नु
मेरो मस्तिष्क दुस्वप्न भइरहेको छ
जिन्दगीलाई समाधितिर धकेलिरहनु
थुप्रै समाधि क्षणहरुको वरण गर्दै बाँच्नु
शब्दहरुको झिरले घोचेर
मस्तिष्कलाई हिर्काउनु
ती नियतिहरुको लङ्गडो दिनलाई
कतै तिलाञ्जली
कतै उत्खनन्
चट्टान भएर लेख्न खोज्छु
ती हिरासतहरुलाई चिथोर्न खोज्छु
कस्तो तेज भएर दुख्छ असह्य हुन्छ
कतै झिनो पर्दाले छेकिएको महसुस गर्छु
त्यो दृष्टि भङ्गताको
कहाँ शुरु कहाँ अन्त्यरु
मेरो मस्तिष्कमा दुस्वप्न भइरहेको छ
मेरो मस्तिष्कलाई कसरी जीवन्त बनाऊँ
कसरी सम्पूर्ण इन्द्रीयहरुलाई
चलायमान गरुँ
गति र लयहीन शरीरलाई
कसरी सक्रिय तुल्याऊँ
यी हिरासतभित्र
मेरो इन्द्रीयहरुलाई अनवरत
धकेल्न प्रयासरत छु

कवि : नवीन गाउँले  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार