रामेछापको दोरम्बा शैलुङ गाउँपालिका जिल्लाको सुन्दर अनि प्रकृतिले दिएको वरदान हो भन्दा फरक नपर्ला । सुन्दर सय थुम्का शैलुङ यहि पालिकामा पर्छ । धार्मिक,सांस्कृतिक,प्राकृतिक र ऐतिहासिक रुपमा यो पालिका अब्बल छ । आफैमा सुन्दर यो पालिकालाई अझै सुन्दर बनाउन के कस्तो कामहरु भैरहेका छन ? पालिकामा भैरहेको विकास र परिवर्तनमा रहेर गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानसँग गरिएको कुराकानीको सम्पादित अंश ः
दोरम्बा शैलुङ गाउँपालिकामा के कस्ता बिकास निर्माणका कामहरु भैरहेका छन ?
हामी निर्वाचित भएदेखी नै विकास निर्माणका कामहरु धेरै नै भएका छन । सडक,खानेपानी,शिक्षा,स्वास्थ्य र पूर्वाधार निर्माणमा हामीले मुख्य प्राथमिकता दिएका छौँ । कृषि र पर्यटनको क्षेत्रमा पनि केही राम्रा कामहरुको सुरुवात भएको छ । गत वर्षको असोजमा गएको बाढि पहिरोले गर्दा हामीले सडकको कामलाई लयमा ल्याउन सकेका छैनौँ । अन्य कामहरु राम्रोसँग भैरहेको छ ।
शिक्षामा के के कामहरु भयो ?
शिक्षा क्षेत्रमा गत वर्ष भन्दा अहिले राम्रो नै नतिजा आएको छ । अहिले विद्यायहरुमा अनुगमनको कामहरु भैरहेको भएको छ । विद्यार्थीहरु नभएको विद्यालयलाई मर्च गर्ने काम पनि गरेका छौं । शिक्षामा अझै राम्रो सुधार ल्याउने गरी काम गर्ने योजना छ ।
कृषि क्षेत्रमा के कस्तो कामहरु भैरहेको छ ?
पछिल्लो समयमा कृषि पेशाबाट मानिसहर विस्थापित भैरहेका छन । यस कुरालाई मध्यनजर गर्दै हामीले युवाहरुलाई कृषिमा आकर्षित गराउन लागि परेका छौं । जस्तै स् कफीको विरुवा,एभोकाडो,किवी,सुन्तला,लगाएतका बिभिन्न विरुवाहरु निशुल्क रुपमा किसानलाई वितरण गरिरहेका छौँ । अर्को तर्फ पशुपालनलाई पनि प्राथमिकता दिएका छौं । गत वर्ष पनि माछा पालन,गाई पालनमा अनुदान दिएका थियौं । सोही ढंगबाट अहिले पनि काम भैरहेको छ ।
खानेपानीको अवस्था कस्तो छ,के के काम भयो ?
गत वर्ष हाम्रो पालिकामा बाढि पहिरोले पानीको मुहानहरु क्षत विक्षत बनायो । पानीको पाईपहरु बगायो । केही पाईपहरु फुटे । अहिले हामीले पानीको मुहान संरक्षण र पाईपहरु जडानको काम गरिरहेका छौँ । कतिपय ठाउँहरुमा पानीको पाईप पु¥याउन अझै बाँकि नै छ । त्यसको लागि आगामि आवको बजेटमा समावेस गरेर काम गर्ने लक्ष्य राखेका छौ.।
विपद् व्यबस्थापनमा के के कामहरु भयो,विपद्को जोखिम कतिको छ ?
दोरम्बा शैलुङ्ग गाउँपालिका विपद् जोखिमको जोखिम छ । जोखिमलाई लक्षित गरेर कार्यक्रमहरु बनाउने सोच छ । त्यसको लागि बजेट् पनि चाहियो नि । अहिले पनि विपद्कोषमा केही रकमहरु छन् । ती रकम अत्यावश्यक पर्यो भने प्रयोगमा ल्याउन जर्गेना राखेका छौँ । यस ठाउँमा हुने विपद् भनेको बाढी,पहिरो नै हो । फेरी बर्षा लाग्ने बेला भईरहेकाले त्यसको लागि हामी पुर्व तयारीमा छौं ।
पालिकामा समस्याहरु के के छन ?
पालिका भित्र मुख्य रुपमा व्यवस्थित सडक र खानेपानीको समस्या छ । पालिकाबाट वडाहरु पुग्ने मुख्य सडक मजबुत बनाउन सकियो भने राम्रो हुनु थियो । यहाँ सबै भन्दा ठुलो समस्या भनेको अहिलेसम्म १ मिटर पनि बाटो कालो पत्रे हुन सकेको छैन । एकडेड् किलो मिटर यसपालि हुने छ । १ न. वडा र ४ न. वडामा अझै सडक अव्यवस्थित छ । अरु वडामा बर्खाको समयमा पनि गाडि चल्न सक्ने स्थिति छ । हाम्रो मुख्य समस्या भनेको ग्रामिण सडक नै हो ।
आगामि योजना के कस्तो बनाउनु भएको छ ?
दोरम्बा शैलङ् गाउँपालिकामा रहेका कृषि, पर्यटन,उद्योग यी कुराहरुलाई आधार मानेर अगाडि बढ्ने रणनिति बनाएका छौैं । यस गाउँपालिकामा समृद्धि निमार्ण गर्नको निम्ति यी तिन कामलाई पहिलो प्राथमिकता दिएर काम गर्ने लक्ष्य छ ।
पालिकामा बाह्य पर्यटकहरुको आगमन कस्तो पाउनु भएको छ ?
यस ठाउँको पर्यटकिय स्थल भनेको सबैले चिन्ने परिचत ठाउँ भनेको ठुलो सैलुङ्,सानो सैलुङ्, गुरासे,अग्लेश्वरी लगाएतका धेरै ठाउँहरु हुन । यस ठाउमा आन्तरिक र बाह्य दुबै खाले पर्यटकहरुको आगमन हुने गरेको छ । विशेष गरी बाह्य पर्यटकहरु आउने गरेका छन् ।
सम्झौता भएको कति योजनाहरु पुरा भए कति योजनाहरु बाकि छन ?
सम्झौता भएको ६० प्रतिशत योजनाहरु पुरा भएका छन् । हामीले संचालन गरेका योजनाहरुलाई रोजगारसंग जोडेर काम गर्ने लक्ष्य रहेको छ ।
तपाईलाई काम गर्न केहि चुनौतिहरु छन ?
मेरो कार्यकालमा त्यस्ता कुनै चुनौंतिहरु आइपरेको छैन । यदि त्यस्ता चुनौंतिहरु आईपरिहालेमा म समाधान गर्न सक्षम छु ।