रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापले जिल्लामै पहिलो पटक रामपुरबाट भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालेको हो ।
रामपुरका ३ सय १५ जना भूमिहीन र २ जना सुकुम्बासीलाइ शनिबार निस्सा वितरण गरिएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । जनजातिहरुको मात्रै बसोबास रहेको यो वडामा लामो समयसम्म जग्गा नपाएका भूमिहीन सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको उहाँले बताउनुभयो ।
निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।
निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि लालपूर्जा वितरण हुने बताइएको छ ।