रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा जम्मा बजेटको ५१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा चालु आर्थिक वर्षका लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट स्वीकृत भएको थियो । जसमा चालु खर्च ६१ प्रतिशत र पुँजिगत खर्च ३१ प्रतिशत गरी जम्मा ५१ प्रतिशत बजेट खर्च गरेको हो । नगरपालिकाको वकास बजेट खर्च ज्यादै न्युन देखिएको हो ।
मङ्गलवार नगरपालिकाले वडा नं ३ मा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले चालु आवको हालसम्म भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँका अनुसार यो वर्ष तीन करोड ८५ लाख रुपैयाँ आन्तरिक राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ७३ प्रतिशत अर्थात् दुई करोड ७७ लाख ७३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
वडा सिलिङका ३ सय ५१ वटा,सङ्घ र प्रदेशका सहित नगरपालिकामा यो वर्ष ५६० वटा योजना रहेकोमा ४ सय ५१ योजना सम्झौता भई २ सय ४१ वटा अर्थात ४३ प्रतिशत योजनाको भुक्तानी गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।
एकीकृत घुम्ती शिविर सहित वडा नं ३ मा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित गुनासो राखेका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,बालमैत्री नगरको घोषणा कार्यक्रमको अवस्था,विपद व्यवस्थापन लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लब श्रेष्ठ,उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र वडा नं ३ का वडाअध्यक्ष कृष्ण गोपाल थापाले दिनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नु हुँदै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले कार्यक्रममा सहभागी नागरिकले सोधेको प्रश्न,जिज्ञासा तथा गुनासोलाइ मुख्य प्राथमिकतामा राखेर सेवा प्रवाह र विकास निर्माणको कामलाइ अघि बढाउने बताउनुभयो ।
मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले महिला दिदिबहिनीहरुलाई नगरबाट कुनै सहयोग आवश्यक परे आउन आग्रह गर्नुभयो । नगरले महिलाको क्षेत्रमा धेरै काम गरेको भन्दै उहाँले आगमी दिनहरुमा आझ धेरै कामहरु हुने बताउनुभयो ।
हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि,वडा तथा पालिकाका कर्मचारी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,पत्रकार र वडा नं ३ कठजोरका नागरीकहरुको उपस्थिती रहेको थियो ।