रामेछापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिवार साँझ ६ः३० बजेको समयमा टिफरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ नागदहका अन्दाजी २४ वर्षीय मणिराज तामाङको ज्यान गएको छ ।
मृतक तामाङका दाइले चलाएको बा ३ क १५०५ नम्बरको टिफरमा बसी सेलेघाट–साघुँटार निर्माणाधीन सडक खण्डको लागि श्री भारत कन्स्ट्रक्सन सिद्धि साई जे.भि. कम्पनीले खाँडादेवी गाउँपालिका–४ रजगाउँमा सञ्चालन गरेको क्रसरमा बालुवा लोड गर्न गएका थिए ।
बालुवा लोड गर्ने क्रममा टिफरको हुटमा भएको साबेल लिन जाँदा सोही टिफर माथिबाट गएको विद्युत् प्राधिकरणको हाईटेन्सन लाइनमा छोई करेन्ट लागि मिणिराज तामाङ घाइते भएका थिए ।
घाइते तामाङलाई उपचारका लागि मन्थली अस्पताल लगिए पनि अस्पताल पुग्नासाथ अस्पतालका चिकित्सकले शनिवार बुलुका ७ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
प्रहरीले अहिले टिफर चालक मृतक तामाङका दाइ वर्ष २५ का कमल बहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ । मृतक तामाङको शव पोष्टमार्टमको लागि अहिले मन्थली अस्पतालमा राखिएको छ ।