रामेछापको मन्थली नगरपालिका–५ स्थित भैरवी मावि सुनारपानीको हाताभित्र निर्मित सरस्वति मन्दिरको उद्घाटन गरिएको छ । उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक दम्पत्ति द्वारिका कार्की र शिक्षक महालक्ष्मी कार्कीले निजि लगानिमा निर्माण गरिदिएको सरस्वति मन्दिरको वसन्तपंचमीको अवसर पारेर प्राण प्रतिष्ठा सँगै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले एक औपचारिक कार्यक्रमका विच सोमबार उद्घाट्न गर्नु भएको हो ।
लामो समय देखि सुनारपानीको भैरवी माविमा अध्यापन गराउँदै आउनु भएका शिक्षक द्वारिका कार्की र सोही विद्यालयमा कार्यरत शिक्षक महालक्ष्मी कार्कीले आफना स्वर्गिय पिता भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमा सपरिवारको सल्लाहमा विद्यालय हाता भित्र उक्त मन्दिर निर्माण गर्नु भएको थियो । नव निर्मित मन्दिर उद्घाटन अघि कार्की दम्पत्तिले मन्दिर विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको थियो । कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैँयाको लागतमा उक्त मन्दिर निर्माण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नगरप्रमुख लव श्रेष्ठले कार्की दम्पत्तिले विद्यालय हाता भित्र सरस्वतिको मन्दिर बनाएर आफनो निजि र पारीवारीक हैसियत उँचो बनाएको धारणा ब्यक्त गर्नु भयो । उहाँले कार्कि दम्पत्ति जस्तै समाजका अन्य मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्ने हो भने हाम्रो देशले काँचुली फेर्नका लागि कति पनि समय कुर्न नपर्ने धारणा ब्यक्त गर्नुभयो ।
नगर प्रमुख श्रेष्ठले सबै नागरिकले कार्की दम्पत्तिले जस्तै गरी उँचो मनोभावले सकरात्मक सोचका साथ सामाजिक दायित्व पनि पुरा गर्ने हो भने नेपाल सरकारले परिकल्पना गरे भन्दा पनि चाँडै समृद्ध नेपाल, सुखि नेपालीको सपना साकार बन्ने विश्वास ब्यक्त गर्नु भयो । यसबाट ब्यक्तिले चाह्यो भने समाजमा परिवर्तन सम्भव भएको बताउँदै अभियानमा सबै पक्षलाई सकरात्मक भएर लाग्न पनि नगर प्रमुखले आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष रवीन कार्की मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की,नेकपा एमालेका नगर सचिव गणेश कार्की तथा समाजसेवी शिवध्वज कार्की लगायतका बक्ता हरुले कार्की दम्पत्तिले विद्यालय हाता भित्र मन्दिर बनाएर उदाहरणिय काम गरेको भन्दै उहाँहरुको कामको प्रशंसा गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको मन्दिर हस्तान्तरण तथा प्राण प्रतिष्ठा कार्यक्रममा स्थानिय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक हरुको पनि उल्लेख्य रुपमा उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय परिवारको तर्फबाट मन्दिर बनाइदिने शिक्षक दम्पति द्वारिका कार्की र शिक्षक महालक्ष्मी कार्कीले लाई प्रमुख अतिथीको हातबाट कदरपत्र र दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।