नागरीकलाई ढुक्कले चाडपर्व मनाउन रामेछापका प्रमुख जिल्ला अधिकारी पौडेलको आग्रह

नागरीकलाई ढुक्कले चाडपर्व मनाउन रामेछापका प्रमुख जिल्ला अधिकारी पौडेलको आग्रह

चाडपर्व केन्द्रित शान्ति सुरक्षाको प्रबन्ध मिलाइएकाले ढुक्कले चाडपर्व मनाउन रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले आग्रह गर्नुभयो । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको उहाँले बताउनुभयो । उहाँले चाडपर्वमा यात्रुहरुले सास्ती खेप्नुपर्ने विषयमा समेत जिल्ला प्रशासन कार्यालयले ध्यानकेन्द्रित गरेको बताउनुभयो ।

चाडपर्वको समयमा चोरी लगायतका अपराधिक घटनाहरु समेत बढ्ने हुँदा त्यस्ता घटनालाई नियन्त्रण गर्नका लागि तत्काल रेस्पोन्स गर्ने व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो । चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन उहाँले आग्रह गर्नुभयो । उहाँले नेपालीहरूको महान् चाड पर्वहरू दशै, तिहार आइसकेको भन्दै सबैजना खुशी भएर सभ्य तरिकाले चाड पर्व मनाउन आग्रह गर्नुभयो ।

चाड पर्वको मुखैमा यो वर्ष बाढी पहिरो तथा डुबानको घटनाहरु भएको भन्दै उहाँले विपतका घटनालाई भुलेर भएपनि दशैँ मनाउन जिल्लावासीलाई आग्रह गर्नुभयो । मुख्य चाड पर्वमा बजारमा हुन सक्ने सम्भावित कालोबजारी, म्याद गुज्रेका सामानको बिक्री वितरण, अवैध मदिराको बिक्री वितरण, जुवातास खेल्ने÷खेलाउने, चोरी–लुटपाट जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत उहाँले आग्रह गर्नुभएको हो ।

यस्ता अवान्छित गतिविधिहरु हुन नदिन जिल्लाका मुख्य नाका सहित बजार क्षेत्रहरुमा प्रहरी परिचालन हुने बताउनुभयो । सार्वजनिक सवारी साधनहरूमा क्षमता भन्दा बढी यात्रुहरू बोक्ने, तोकिए भन्दा बढी भाडा असुल्ने, अवैध रूपमा सञ्चालन भएका चिट्ठा र अनलाइन सपिङमा सहभागी हुने तथा विद्युतीय माध्यमबाट हुने ठगी लगायतका अवैध क्रियाकलाप हुन सक्ने भन्दै ती कार्यहरू नगर्न नगराउन पनि प्रजिअ पौडेले अनुरोध गर्नुभयो । यस्तो गतिविधिहरु भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार