रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा बेलिबृज जडान शुरू

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा बेलिबृज जडान शुरू

सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा नेपाली सेनाले बेलिबृज जडान शुरू गरेको छ ।

सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न आइतबारदेखि बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको सेनाले जनाएको छ । पुल बगाएर सडक अवरुद्ध भएपछि रामेछाप,सिन्धुली,ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज भएको छ ।

बीपी लोकमार्ग र पुष्पलाल लोकमार्ग जोड्ने सुनकोशी नदीको सय मिटरको पक्की पुलमध्य रामेछापतर्फ रहेको आधा भाग असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो ।

लगातारको वर्षाले सिन्धुलीको खुर्काेट र रामेछाप जोड्ने पुल बगाएपछि बेलिब्रिज निर्माण गरि रामेछापलाई विपि लोकमार्गसँग जोड्न लागिएको हो । बेलिब्रिज निर्माण भएपछि रामेछाप जोड्ने बिपी लोकमार्ग अस्थायी रुपमा सञ्चालनमा आउनेछ ।

खुर्काेटको पुल बाढीले बगाएपछि हाल रामेछाप जिल्ला सित्खा र दोलखा हुँदै अन्य जिल्लासँग सडक सञ्जालमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार