सुनापति गाउँपालिकाको पर्यटकिय सम्भावना,यस्तो छ गाउँपालिकाको योजना

सुनापति गाउँपालिकाको पर्यटकिय सम्भावना,यस्तो छ गाउँपालिकाको योजना

रामेछापको सुनापति डाडाँको नामबाट नामाकरण भएको सुनापती गाउँपालिका पर्यटकिय,धार्मिक तथा ऐतिहासिक रुपमै सम्भावना बोकेको ठाउँ हो । सुनापति डाडाँकोे एक अलग पहिचान रहेको छ ।

एकातिर यो साविकका हिलेदेबी,बेथान र खनियापानी गाउँ विकार समितिहरुको संगम स्थल हो भने अर्को तर्फ हिन्दु र वौद्ध धर्मालम्वीहरुको धार्मिक र सांस्कृतिक केन्द्र विन्दु पनि हो । सुनापति डाडाँमा महादेवको मन्दिर र वौद्ध धर्मालम्वीहरुको करीव १०४ वर्ष पुरानो ऐतिहासिक माने(छ्योर्तेन) र १०८ वर्ष पुरानो लहरेमाने पनि छ जुन पुरातत्व विभागमा समेत सूचीकृत भइसकेको छ। यसरी सुनापति एक धार्मिक एवं सांस्कृतिक विविधताले भरिपूर्ण एक पर्यटकीय गन्तव्य पनि हो ।

सुनापति गाउँपालिका वडा नं ४ बेथान र वडा नं. ३ हिलेदेवीको सङ्गमस्थलमा निर्माण गरिएको डम्फु पार्क अन्तरीक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । लुभु–बेथान–हिलेदेवी–गाल्वा सडक अन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले आन्तरिक पर्यटकहरू आउनेक्रम बढ्दो छ । यो पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यभित्रको एक हो ।

डम्फु पार्कमा ठूलो आकर्षक डम्फु र टुङ्ना राखिएको छ । डम्फु पार्कबाट पर्यटकीय गन्तव्य शैलुङ, दोलखाको गौरीशङ्कर हिमाल लगायतको क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । सुनापती पालिकाले सुनापती डाँडा र पालिकाको विभिन्न ठाउँहरुमा पर्यटन प्रबद्र्धनका लागी विभिन्न मानेँ,गुम्बा,सिँढी,पार्क र बुद्धको मुर्तीहरु समेत निर्माण गरेको छ ।

सुनापती गाउँपालिकामा ६० रोपनी क्षेत्रफलमा चिया खेती भइरहेको छ । चिया खेतीका लागी सुहाउँदो हावापानी रहेको यस ठाउँमा चिया बगान घुम्न आउने आन्तरिक पर्यटक पनि बढेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक÷टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटकहरु आउने गरेका छन । हरियाली र निकै मनमोहक चिया बगानले धेरैको मन लोभ्याउने त्यहाँ पुगेकाहरु बताउँछन् ।

सुनापती गाउँपालिकामा कृष्ण वर्णेश्वर भन्ने धार्मिकस्थल छ । जहाँ हरेक वर्ष ठुलो मेला लाग्ने गर्दछ । यो ठाउँ धार्मिक तथा प्राकृतिक रुपमा निकै सुन्दर रहेको छ । सुनापती गाउँपालिकामै पर्ने लखपती डाँडा पनि पर्यटकिय क्षेत्र हो । यो डाँडाबाट विभिन्न ठाउँहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।

सुनापती गाउँपालिकाकै वडा नं ४ पानीघाट भन्ने ठाउँमा सहिद स्मारक पार्क निर्माण गरिएको छ । जनयुद्धको समयमा ज्यान गुमाएकाहरुको सम्झनामा निर्माण गरिएको पार्क सहितको ऐतिहासिक ठाउँ बेथान घुम्न धेरै आन्तरीक पर्यटकहरु आउने गरेका छन ।

पर्यटन प्रबद्र्धनमा गाउँपालिकाको योजना

सुनापती गाउँपालिकाले वडा नं ३ मा सेतो मछिन्द्र नाथको मुर्ती समेत निर्माण गरेको छ । ५६ फुटको मुर्ती निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टले बताउनुभयो ।

गाउँपालिकाले पालिकामा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकको व्यवस्थापनको लागी होमस्टे समेत संचालनमा ल्याएको छ । प्राकृतिक,धार्मिक तथा ऐतिहासिक पर्यटकिय सम्भावना रहेका ठाउँहरुको विकास,संरक्षण,प्रबद्र्धन र प्रचार प्रसारको लागी एक करोड ५० लाख रुपैयाँ बजेट विनियोज गरिएको उपाध्यले विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार