उद्घाटनको दिन कुर्दै सैनिक स्मुति पार्क

उद्घाटनको दिन कुर्दै सैनिक स्मुति पार्क

डिभिजन बन कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापको मूल ढोका नजिक करिब २५ लाख रुपैयाँको लगानीमा सैनिक स्मृती पार्क निर्माण गरेको छ । पार्क निर्माण सम्पन्न भएको एक वर्ष भन्दा बढि भइसकेको भएपनि उद्घाटन भने हुन सकेको छैन । निर्माण सम्पन्न भएको यतिका समय भइसकेको भएपनि पार्क किन उद्घाटन हुन सकेन भनेर चौतर्फी आलोचना भइरहेको छ ।

रामेछाप नगरपालिका ८ का राम बहादुर थापाले आफ्नो टोलमा बनेको पार्क उद्घाटन नहुँदा संचालनमा आउन नसकेको बताए । उनले भने,‘कस्को स्वार्थ पुरा भएन,के कारणले पार्क उद्घाटन नभएको हो ? सम्बन्धित निकाय यस विषयमा किन मौन छ ?’

१ वर्ष अघि नै घेराबारा सहित निर्माण भएको पार्क निर्माण सम्पन्न भएको लामो समय वितिसक्दा समेत उद्घाटन हुन सकेको छैन । डिभिजन वन कार्यालयको कुल २५ लाख रुपैयाँ र श्रमदान १० प्रतिशत(एक लाख रुपैयाँ) गरी कुल २६ लाखको लागतमा स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते नै काम सम्पन्न गरिसकेको भएपनि पार्क संचालनमा आउन नसकेको हो ।

२०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक बनको जङ्गलमा लागेको आगो निभाउने क्रममा तत्कालीन १३ जना सैनिक जवानहरूले डढेलोमा परेर ज्यान गुमाएका थिए । त्यसैको सम्झनामा १३ मध्य अन्यको नाम शिला लेखमा रहने र एक जना कमान्डरको भने सालिक राख्ने गरी स्टमेट भएको थियो ।

स्टमेट अनुसार काम भएर भुक्तानी समेत भएको भए पनि पार्क उद्घाटन नहुदा संचालनमा आउन नसकेको उपभोक्ता समितिका सचिव जीवन कुमार श्रेष्ठले बताए । उनले भने पार्क उद्घाटन नुहँदा निर्माण भएका संरचनाहरुमा पनि क्षति हुन थालेको छ ।

डिभिजन बन कार्यालय रामेछापका प्रमुख उमाशंकर जैसवालले आफुले यहि भदौ ६ गतेदेखी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको बताउँदै के कारणले पार्क उद्घाटन हुन नसकेको रहेछ बुझेर तत्काल उद्घाटनको तयारी थाल्ने बताए ।

यस भन्दा अघिका डिभिजन वन अधिकृत ओम सागर भण्डारीका कारण पार्क उद्घाटन हुन नसकेको विशेष स्रोतले बताएको छ । उनले पार्क आफ्नो कार्यकालमा निर्माण भएका कारण ताम्रपत्रमा आफना्े नाम उल्लेख गर्नुपर्ने बताएका थिए । पार्क निर्माणको जिम्मा पाएको उपभोक्ता समितिका एक पदाधिकारीका अनुसार तत्कालिन वन अधिकृत भण्डारीले आफ्नो पहलमा बनेको पार्क भएका कारण सो पार्क आफुले उद्घाटन गर्नपर्ने बताएका थिए ।

उपभोक्ता समितिले वन कार्यालयद्धारा निर्मित पार्क लेखेर ताम्रपत्र तयार गरेर उद्घाटन गर्ने सम्पुर्ण तयारी १ वर्ष अघि नै गरिसकेको थियो । तर तत्कालिन वन अधिकृत भण्डारीले ताम्रपत्रमा आफ्नो नाम उल्लेख गर्न आग्रह गरे ।

उपभोक्ता समितिले पनि सोही अनुसार ताम्रपत्रमा भण्डारीको नाम उल्लेख गरेर बारम्बार उद्घाटनको लागी आग्रह गर्दा पनि बेवास्ता गरेको उपभोक्ता समितिको भनाई छ । फेरी के स्वार्थ पुरा भएन कुन्नी त्यस पछि पार्क उद्घाटन हुनै सकेन । जसका कारण अहिले निर्माण सम्पन्न भएको पार्क बेवारिसे अवस्थामा छ ।

रामेछाप नगरपालिकाका वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले पार्क उद्घाटनको लागी आफुहरुले पनि वन कार्यालयलाई बारम्बार आग्रह गरेको बताए । धेरै पटक वन कार्यालय र नेपाली सेनाको ब्यारेकसँग कुराकानी भएको भएपनि अहिलेसम्म उद्घाटन भने हुन नसकेको उनले बताए ।

वडा कार्यालयले पनि पार्क अगाडी रहेको पुरानो स्तुपालाई पार्क भित्र लगेर निर्माण गर्नका लागि ३ लाख रुपैयाँ बजेट विनियोजना गरेको बताए । २०७२ को भूकम्पले चिराफारा भएको स्तुपालाई पार्क भित्र स्थानान्तरण गरेपछि अझै पार्कको सौन्दर्यता बढ्ने वडाअध्यक्ष तामाङ्गको भनाई छ ।

२५ लाख लागतमा निर्माण भएको पार्कमा वरिपरि घेराबार,गेट, शिला लेख र एक जना सैनिक कमान्डरको सालिक भन्दा बाहेक अन्य कुनै संरचना छैन । यतिको संरचना निर्माणको लागी २५ लाख खर्च भयो भन्दा पत्याउनै गाह्रो पर्छ । पार्क निर्माण सम्पन्न नभइकन वन कार्यालले भुक्तानी दिएको समाचार समेत बाहिरीएको थियो ।

यो पार्क निर्माणको क्रममा आर्थिक हिनामिना भएको हुनसक्ने आशंका गर्ने ठाउँहरु धेरै छन । यहि कारणले पनि पार्क उद्घाटन हुन नसकेको हुन सक्ने यहाँका नागरीहरुको भनाई छ । बनेको पार्क एक वर्षभन्दा बढी समयसम्म उद्घाटन हुन नसक्नु दुुखको कुरा हो । उद्घाटन हुन नसक्नुका अनेकौँ कारणहरु होलान तर व्यक्तिगत स्वार्थ पुरा नहुँदा बनेका संरचनाहरु बिगार्ने छुट कसैलाई छैन । तत्कालै यो पार्क उद्घाटन भएर संचालनमा आउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार