सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्केर उद्यम गरेकालाई पुरस्किृत गर्ने

सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्केर उद्यम गरेकालाई पुरस्किृत गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्कृत गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्किृत गर्ने बताएको छ । जसका लागि मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन माग गरेको छ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ।कामदार भिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।

पुरस्कार आवेदन फाराम श्रम मन्त्रालयको वेबसाइटमा राखिएको छ। आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्नेछ।

आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा छ सदस्यीय सिफारिस समिति गठन पनि गरिएको छ।

सातवटै प्रदेशबाट न्यूनतम एकजना नछुट्ने गरी उद्यमी छनोट गरिनेछ। आवेदकमध्ये एक जनाले एक लाख ५० हजार रुपैयाँसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार