आज माघ १ गतेः माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

आज माघ १ गतेः माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

आज माघ १ गते अर्थात् माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता पनि छ ।

घ्यू, चाकु, उसिनेको तरुल र तिलको परिकार खाएर यो पर्व मनाइँदैछ । आजको दिन मासको दाल र चामल मिसाएर घ्यू हालेर बनाइएको खिचडी पनि खाने चलन छ । चिसो मौसममा यस्ता खाद्य पदार्थको सेवनले शरीरमा उर्जा प्रदान हुने चिकित्सकहरूको भनाइ छ । नरदेवी अस्पतालका डा. जया सत्यालका अनुसार जाडोयामको समय यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिने, ताप सन्तुलनमा राख्ने र चिसोबाट जोगाउने काम गर्छ ।

यस्तै रोग प्रतिरोधात्मक शक्ति पनि बढाउने काम गर्छ र शरीरलाई निरोगी राख्छ ।उहाँले कन्दमूलले पाचनशक्ति बलियो बनाउने भन्दै सङ्क्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिनुभयो ।

आजै थारु समुदायको माघी पर्व पनि मनाइँदैछ । उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले आजको दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् ।

यस्तै तराई मधेशमा मकर सङ्क्रान्ति पर्व मनाइँदैछ भने काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर आजको दिन चाकु, तरुल लगायतका परिकार सेवन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइने प्रचलन रहेको उल्लेख गर्दे उहाँले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताउनुभयो ।

साथै उहाँले कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार