राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप 

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप 

राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ ।जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले बताउनुभयो ।

लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित गर्नुभएको हो । संयोजक श्रेष्ठका अनुसार जम्मा खसेको ३८ सय ६५ मत मध्ये ४ सय ३१ मत बदर भएको छ ।उपाध्यक्षममा भने विक्रम पाण्डे विजयी हुनुभएको छ ।२५ सय २१ मत ल्याएर पाण्डे विजयी हुनुभएको हो भने महिला उपाध्यक्षमा विजयी रोशन कार्की १५ सय ७९ मत पाउनुभएको छ ।

महामन्त्रीमा डा धवलशम्शेर राणा २२ सय २१ पाएर विजयी हुनु भएको छ भने भुवन पाठक १७ सय ५ मतसहित महामन्त्रीमै विजयी हुनुभएको छ ।महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसिहत विजयी हुँदा १६ सय ४० मत पाउनुभएका महिला महामन्त्री पदका अर्का प्रतिस्पर्धी रेखा थापा पराजित हुनुभएको छ ।

महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप 

राप्रपा नेपालका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रतर्फ सङ्केत गर्दै निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ ।आगामी अध्यक्ष पदका प्रतिस्पर्धीसमेत रहनुभएका नेता थापाले पराजित भएपछि सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै यस्तो आरोप लगाउनुभएको हो ।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्तसना गर्दछु।मैले राहत र उन्मुक्ति पाएको छु।’ थापाले पूर्वराजा ज्ञानेन्द्रलाई ट्विटरमा व्यङ्ग्य गर्दै बधाई पनि दिनुभएको छ ।सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कारस्वरुप चुनावमा पराजित गराइएको नेता थापाको भनाइ छ ।

‘एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’ उहाँले थप्नु भएको छ ।प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय भने सहर्ष स्वीकार गरेको थापाले उल्लेख गर्नु भएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।’ थापाले अर्को ट्विटमा लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार