शतबीज छरी बालाचतुर्दशी पर्व मनाइदै

शतबीज छरी बालाचतुर्दशी पर्व मनाइदै

आज बालाचतुर्दशी पर्व मनाइँदैछ । मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । यसका लागि हिजो बेलुकी अर्थात त्रयोदशीदेखि नै दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी रातभर जाग्राम बस्ने चलन रहेको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।

रातभर जाग्राम बसेका भक्तजनले आज बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्नेगर्छन् । यस अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

पशुपतिमै जाग्राम बस्न धेरै मानिस आएकाले पशुपति क्षेत्र विकास कोषले पाललगायत व्यवस्था गरेको जनाएको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार