नेकपा एमालेको चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आज अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पदाधिकारी र बिभिन्न आयोगमा रहनेहरूको नामावली पेश गर्नुहुने भएको छ ।
पार्टीका ३ सय १ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूकोसूची तयार पारेर बन्दसत्रमा पारितका लागि पेश गर्ने तयारी अध्यक्ष ओलीको छ ।
आज मध्यान्ह् १२ बजे एमालेमहाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुनेछ । ‘बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने सूचीमा सर्वसम्मत पारित हुन्छ ।
त्यसमा नेता भीम रावलले मतदानको माग गर्नुभयो भने उहाँको पक्षमा कति जना हुनुहुन्छ भनेर महाधिवेशन प्रतिनिधिलाई सोध्छौँ र निष्कर्ष निकाल्छौँ ।’
एमाले नेता तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भन्नुभयो । नेता रावलले यसअघि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो । नेता तामाङले सर्वसम्मत नेतृत्व छान्दै आजै महाधिवेशन समापन गरिने जानकारी दिनुभयो ।
हिजोको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । नेतृत्व छान्नका लागि अध्यक्ष ओलीलाई सर्वाधिकार दिने प्रस्ताव सङ्गठन विभाग प्रमुख नेता विष्णु पौडेलले गर्दा अर्का नेता भीम रावलले तत्कालै आपत्ति जनाउनुभएको थियो ।
कुनै एक व्यक्तिको हातमा पार्टी जिम्मा लगाउँदा आन्तरिक लोकतन्त्र कम्जोर हुने भएकाले आफूले असहमति जनाएको नेता रावलले बताउनुभयो ।
जवाफमा अध्यक्ष ओलीले नेतृत्वका लागि आफूले गरेको प्रस्तावमा चित्त नबुझे चुनावमा जान सकिने बताउनुएको थियो । एमाले केन्द्रीय कमिटीको १५ औँ बैठकद्वारा निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई बन्दसत्रले पारित गरेको छ ।
बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी सङ्ख्या विभाजन गरेको छ ।