छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै, आज सार्वजनिक बिदा

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै, आज सार्वजनिक बिदा

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् ।

आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् । आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ पर्व समापन हुन्छ ।

कार्तिक शुक्ल चतुर्दशीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरिन्छ । छठमा विशेष गरी छठी माईको पूजा गरिन्छ। परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरिएको इतिहास छ। त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख छ।

त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ।यो पर्व नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ।

नेपालको तराई क्षेत्रमा मात्र मनाइने गरिएको यस पर्व केहिवर्षयता नेपालभर मनाउन थालिएको छ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले कोरोना महामारीको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गरी छठ मनाउन सबैमा आग्रह गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउनुभयो ।

उहाँले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार