तिहारको पाँचौँ दिन आज भाइटीका मनाइयो

तिहारको पाँचौँ दिन आज भाइटीका मनाइयो

तिहारको पाँचौँ दिन आज भाइटीका , दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका तथा मखमली, सयपत्रीको माला लगाएर मनाईएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभएको छ ।

बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले आफ्नो कान्छा भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार पनि दिनुभएको छ ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका लगाउनुभएको छ । लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले आफन्त बहिनीहरुबाट टीका ग्रहण गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यस्तै, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाउनुभएको छ । भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा पूर्वप्रधानमन्त्री भट्टराई र उहाँको दाजुभाइलाई आफ्नी बहिनी पार्वती भट्टराईले भाइटीका लगाइदिनुभएको हो ।

यस्तै, दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि खुलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार