कोरोना सङ्क्रमण घट्दै जाँदा रामेछापमा विद्यालयहरु खुल्ने क्रम बढ्यो

कोरोना सङ्क्रमण घट्दै जाँदा रामेछापमा विद्यालयहरु खुल्ने क्रम बढ्यो

रामेछापमा कोरोना सङ्क्रमण घट्दै जाँदा विद्यालयहरु खुल्ने क्रम बढेको छ । जिल्लाको ८ वटै स्थानिय तहहरुमा अहिले भौतिक रुपमा पठनपाठन सन्चालन भईरहेको छ ।

स्थानीय सरकारले कोरोना सङ्क्रमणको अबस्था हेरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै धमाधम विद्यालय खोल्न थालेका हुन् । झण्डै ६ महिना देखि घरमै रहेका बालबालिका पनि विद्यालय जान पाएर खुशी छन् ।

कोरोनाको दोस्रो लहर बढेपछि २०७७ चैत यता बन्द रहेका विद्यालय बिस्तारै खुल्न थालेका छन् । जिल्लामा स्वास्थ्य साबधानी अपनाउँदै विद्यालयहरु खोल्न थालिएको छ । लामो समयपछि विद्यालय जान पाएर बालबालिका पनि खुशी छन् ।

विद्यालय बन्द हुँदा साना बालबालिकाहरुले अक्षर चिन्न नै बिर्सिसकेका थिए भने अलि ठुला बालबालिकाहरु दिन भरी मोेबाईलमा ब्यस्त हुन्थे । तर विद्यालय खुलेर पठनपाठन शुरु भएपछि विद्यार्थी झैं अभिभावक पनि खुशी छन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचना अनुसार नै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर विद्यालय खोलिएको विद्यालय प्रशासनहरुको दाबी छ ।

कोरोना सङ्क्रमणको अबस्था हरेर आफ्नो पालिका क्षेत्रको विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय सरकारसँग छ । आफ्नो पालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु सँगको छलफल गरी सुरक्षाका मापदण्ड अपनाउने प्रतिवद्धता पछि, नेपाल सरकारको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार पठनपाठन अनुमति दिईएको छ ।

जिल्लामा रहेका सामुदायिक र निजी विद्यालय खुल्न थालेका छन् । तर कोरोना विरुद्धको खोप नलगाएका कारण बालबालिका सङ्क्रमणको उच्च जोखिममा भएकाले उनिहरुको स्वास्थ्य सुरक्षाको विषय विद्यालय प्रशासन र अभिभावकका लागि चुनौतिपूर्ण देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार