गरिबी हटाउन तीन महिना भित्र विस्तृत योजना तयार पार्ने सरकारको घोषणा

गरिबी हटाउन तीन महिना भित्र विस्तृत योजना तयार पार्ने सरकारको घोषणा

सरकारले व्याप्त गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना तयार पार्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो योजना सार्वजनिक गर्नुभएको हो । प्रतिस्थापन विधेयकको प्रमुख उद्धेश्यनै बहुआयामिक गरिबी न्यूनीकरण राखिएको छ ।

पर्याप्त स्रोतसाधन र जनशक्तिका बाबजुद बहुआयामिक गरिबी जनसंख्याको १७ दशमलब ४ प्रतिशत हुनु एवम् त्यसमा पनि कर्णाली प्रदेश, प्रदेश नम्बर २, सुदूरपश्चिम प्रदेशको अवस्था गम्भीर रहेको विधेयकमा उल्लेख छ ।

सरकारले उक्त प्रदेशलगायत देशभर गरिबीको अवस्था सघन रहनुको कारण, गरिबी न्यूनीकरणका हालसम्मका प्रयासहरूको समीक्षा र समस्या समाधानका उपायहरूसित तीन महिनाभित्र विस्तृत योजना तयारी गरी एकीकृत रूपमा कार्यान्वयनमा ल्याउने भएको हो ।

यसैबीच, अर्थमन्त्री शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गर्नुभएको छ । उहाँले कार्यक्रम, बैठक भत्ता, भ्रमण इन्धन, मर्मत, गोष्ठी, अनुगमन खर्च र भत्तामा १० प्रतिशत कटौती गरी सो रकम कोभिड उपचारको लागि जम्मा गर्ने पनि बताउनुभएको छ ।

यसरी ५ अर्ब रुपैयाँ बचत हुने र त्यसबाट कोभिड खोपको प्रबन्ध मिलाएको उहाँले बताउनुभयो । हालसम्म १ करोड ३३ लाख ६९ हजार खोप नेपाल भित्रिसकेको र ३ करोड खोप भित्रिने क्रममा रहेको पनि अर्थमन्त्री शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार