आज देशभर हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ।मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेकोमा केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आजराति पनि सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।
यसैबीच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान वहावको जोखिम रहेको तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।