रामेछाप सहित १३ जिल्लामा वाग्मती प्रदेशले पाँच करोड सहयोग गर्ने

रामेछाप सहित १३ जिल्लामा वाग्मती प्रदेशले पाँच करोड सहयोग गर्ने

वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका प्राकृतिक प्रकोपले क्षति गरेका जिल्लामा पाँच करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । वाग्मतीले प्रदेश विपद् व्यवस्थापन कोषबाट सहयोग रकम उपलब्ध गराउने भएको हो । पहिलो चरणमा सिन्धुपाल्चोकमा अघिल्लो हप्ताको बाढीका कारण क्षति भएका पूर्वाधार तथा अवरोधहरू हटाउने, रोकथाम, नियन्त्रण र मर्मत गरी पुनः सञ्चालन गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने तयारी छ ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मातहतका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई ५०र५० लाख रुपैयाँ दिने वाग्मती प्रदेश सरकारले जनाएको छ । यस्तै काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई २५र२५ लाख दिने प्रदेश सरकारको तयारी छ ।

सिन्धुपाल्चोकमा आएको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट १० लाख मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराइने भएको छ । प्रतिष्ठानको व्यवस्थापनमा भोलिदेखि बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार