विनाशकारी भूकम्पको ६ वर्ष पूरा, ९३ प्रतिशत निजी आवासमा पुनर्निर्माण

विनाशकारी भूकम्पको ६ वर्ष पूरा, ९३ प्रतिशत निजी आवासमा पुनर्निर्माण

१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको आज ६ वर्ष पूरा भएको छ । भूकम्पले ध्वस्त बनाएका कयौँ संरचना पुनर्निर्माण भएका छन् । विशेषगरी विद्यालय भवन, सुरक्षा निकाय भवन र सडक निर्माणमा राम्रो प्रगति भएको छ ।

आमसर्वसाधारणको चासो रहेको ऐतिहासिक महत्वका धरहरा, रानीपोखरीजस्ता सम्पदाको पुनर्निर्माण पनि सम्पन्न भएका छन् । राष्ट्रिय पूर्वाधार प्राधिकरणका अनुसार अब तीनवटा मात्र सरकारी भवन निर्माण गर्न बाँकी छ । पुनर्निर्माण र पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ ।

सांस्कृतिक सम्पदा र स्वास्थ्य संस्थाको निर्माणको गति भने अझै न्यून छ । प्राधिकरणले ०७८ असार मसान्तसम्म मात्र नियमित काम गर्नेछ । भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाको मूल उद्देश्यसहित १० पुस ०७२ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो । प्राधिकरण स्थापना भएको ६४ महिना पूरा भएको छ ।

पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता चार खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ । यसमध्ये अहिलेसम्म सरकार र दातृ निकायहरूको समेत गरी ०७७ चैत सान्तसम्मतीन खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

भूकम्प ०७२ ले भत्किएका विद्यालयमध्ये ६ हजार दुई सय ४६ को पुनर्निर्माण सकिएको छ । नौ हजार ७२ विद्यालय पुनर्निर्माण गर्नुपर्ने भए पनि सात हजार पाँच सय ५३ प्राथमिकतामा थिए । प्राथमिकतामा परेका एक हजार तीन सय सात विद्यालय निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार