एमालेको दुवै समूह एकअर्काको अघि नझुक्ने रणनीतिमा

एमालेको दुवै समूह एकअर्काको अघि नझुक्ने रणनीतिमा

सत्तारूढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूह अडान नछोड्ने तर पेलेरै जाने रणनीतिमा अघि बढ्ने भएको छ । अध्यक्ष ओलीले बालुवाटारमा संसदीय दलको बैठकबाट गुटगत भेलामा जाने सांसदलाई कारबाही गर्ने निचोड निकाल्दै गर्दा नेपाल–खनाल समूहले भने ओलीसामू आत्मसमर्पण नगर्ने बरु स्थानीयस्तरसम्मै सङ्गठन सुदृढ पार्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही गर्न सजिलो होस् भन्नका लागि पार्टीको विधान संसोधनको तयारी गर्नुभएको छ । यसका लागि विधान संसोधन समिति बनाइएको छ । यद्यपी एमाले प्रमुख सचेतक विशाल भट्टराईले सांसदलाई कारबाहीका लागि विधान संसोधन गर्न लागिएको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो ।

एमाले संसदीय दलको २७ सदस्यीय बोर्डसमेत गठन गरेर ओलीले उक्त बोर्डमा नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि समावेश गर्नुभएको छ । अहिले नै नेपाल–खनाल समूहलाई बेवास्ता गर्दा कार्यकर्ता तहमा खराब सन्देश जाने भएका कारण पनि अध्यक्ष ओली सकभर अटाएरै जाने पक्षमा देखिएको बालुवाटार स्रोतको भनाइ छ । यसबीचमा पार्टीभित्रको विवादलाई कसरी हेर्ने भन्ने बारेमा एमालेभित्र पनि अन्यौलता देखिएको छ ।

हिजो बालुवाटारमा भएको संसदीय दलको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद सहभागी भए पनि पूरै समय बसेनन् । बिहान बसेको खनाल–नेपाल समूहको बैठकमा केही सांसदले अध्यक्ष ओलीले बोलाएको बैठकमा सहभागी हुनुपर्ने बताएपछि केही बालुवाटार पुगेर फर्किएका थिए भने केहीलाई बाटैबाट फर्काइएको थियो । दुई दिन चलेको नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ ।

प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठकबाट गराएको विभिन्न निर्णयलाई अस्वीकार गर्ने, संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत र एमाले अनि माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरिएको नेता यज्ञराज सुनुवारले बताउनुभयो । कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि भेलाले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार