भालुखोप गैरी गाउँका ३५ जनाले सिके व्यवसायिक बंगुर पालन सम्बन्धी सिप

भालुखोप गैरी गाउँका ३५ जनाले सिके व्यवसायिक बंगुर पालन सम्बन्धी सिप

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोप गैरी गाउँका ३५ जना किसानले व्यवसायिक बंगुर पालन सम्बन्धी सिप सिकेको छन । घरेलु तथा साना उद्योग कार्यालय रामेछाप र रामेछाप जिल्ला लघु उद्यमी समुह संघको आयोजनामा उनिहरुलाई तालिम दिइएको हो । ७ दिनसम्म सन्चालन भएको तालिममा बंगुर पालन सम्बन्धी सिप विकास र उद्यमशिलता विकास तालिम प्रदान गरिएको थियो । उक्त तालिममा सहभागी हुनु भएका गैरीगाउँका बंगुर पालक किसान टेक बहादुर तामाङले तालिम आफुहरुको लागी निकै महत्वपुर्ण रहेको बाताउनुभयो ।

तालिममा बंगुर पालन गर्दा ध्यान दिनुपर्ने धेरै महत्वपुर्ण कुराहरु रहेछन ति सबै कुराहरु सिक्न पायौँ तामाङले भन्नुभयो । अर्का किसान विष्णु माया तामाङले पहिलो पटक यस्तो तालिममा सहभागी हुन पाएकोमा निकै ख्ुशी लागेको बताउनुभयो । तालिममा बंगुर पालन मात्रै नभएर व्यवसाय दर्ता,आम्दानी खर्चको हिसाबकिताब राख्ने लगायतका धेरै कुराहरु सिक्न पाएको बताउनुभयो ।

उक्त तालिम समापन कार्यक्रमका प्रमुख अतिथी एवम रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले परम्परागत रुपमा गर्दै आएको व्यवसायलाई आधुनिक र उत्पादनमुलक बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गैरी गाउँका किसानहरुलाई सामुहिक रुपमा व्यवसाय गर्न आग्रह गर्दै यसमा नगरले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले गैरीगाउँलाई अब बंगुर पकेट क्षेत्र बनाउनुपर्ने बताउनुभयो । बंगुर पकेट क्षेत्र बनाउन यो तालिमले निकै सहयोग गरेको भन्दै उहाँले वडाले गर्नुपर्ने सबै खाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय रामेछापका अधिकृत मेघनाथ गौतमले स्थानिय स्रोत साधनलाई सदुपयोग गर्दै स्वरोजगार बन्न आग्रह गर्नुभयो । बंगुर पालन गरिरहेका किसानहरुलाई यो तालिमले झनै वृहत रुपमा व्यवसाय सन्चालन गर्न सहयोग गर्ने बताउनुभयो ।

रामेछाप जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष गुन्ज बहादुर कार्कीले तामाङ समुदायको बाहु्ल्यता रहेको गैरी गाउँलाई बंगुर पकेट क्षेत्र बनाउने उद्धेश्यले आफुहरुले सो तालिम सन्चालन गरेको बताउनुभयो । तालिमले बंगुर पालन सम्बन्धी सिप विकास र उद्यमशिलता विकासमा सहयोग पुगेको उहाँको भनाई छ । तालिममा सहभागी भएकाहरुलाई एक÷एक वटा बंगुरको पाठा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार