७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकामा वृक्षारोपण

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकामा वृक्षारोपण

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा वृक्षारोपण गरिएको छ । रामेछाप बजारमा रहेको नगरपालिकाको कार्यालय परिसरको फुलबारीमा विभिन्न जातका विरुवाहरु रोपिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर धुपि,लालुपाते लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे लगायत नगरका कर्मचारीहरुले वृक्षारोपण गरेर प्रजातन्त्र दिवस मनाएका हुन । प्रजातन्त्र दिवसकै अवसरमा रामेछापकै मन्थली नगरपालिकाले आजदेखि राष्टपति रनिङ सिल्ड प्रतियोगिता सुरु गरेको छ । जिल्लाको अन्य स्थानियतहरुमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि. सं. १९९७ माघमा जीवन आहुति दिएका थिए । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सुरुवात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार