गोकुलगंगामा २ दिने प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला सम्पन्न

गोकुलगंगामा २ दिने प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला सम्पन्न

गुणस्तरीय शिक्षा प्रबद्र्वनका लागि बाल शिक्षा तथा विकास सवलीकरण परियोजनाद्धारा रामेछापको गोकुलगंगा गाउँपालिकामा २ दिने कार्यशाला सम्पन्न भएको छ । चाईल्ड एड नेटवर्क जर्मनीको आर्थिक सहयोग,सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोग र गोकुलगंगा गाउँपालिकाको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । गर्भावस्था देखी ८ वर्ष सम्मको बालबालिकाको लागि स्वास्थ्य तथा पोषण क्षेत्र,विकासात्मक तथा शैक्षणिक क्षेत्र (शिक्षा क्षेत्र),खानेपानी तथा सरसफाई क्षेत्र,आयआर्जन कृषि क्षेत्र,अपांगता सम्बन्धी कार्यक्रम,प्रारम्भिक बाल्यावस्थामा विपद व्यवस्थापन (कोभिड १९) सम्बन्धित जनचेतना मुलक कार्यक्रमहरुका लागि कुल ८८ लाख सम्मको बजेट विभिन्न क्रियाकलापमा छुट्याई वृहत रुपमा छलफल गरियो । उल्लेखीत बजेटको  ६० लाख सम्म बजेट पालिकाबाट एकीकृत प्रारम्भिक बाल विकासका लागि पास गराउने प्रतिबद्धता गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्क सुनुवारले व्यक्त गर्नुभयो । तर्जुमा भएका बजेट तथा कार्यक्रम आउँदो आर्थिक वर्ष २०७८।७९ देखी लागु हुनेछ ।

गाउँपालिकाको अध्यक्ष खड्क सुनुवारको अध्यक्षतामा भएको कार्यशालामा बाल विकासका लागि योजना अनुमोदन र योजना पास गर्न गाउँपालिकाको अध्यक्षतामा १३ सदस्य कार्यदल गठन भएको छ । कार्यदलमा क्रमश : संरक्षकमा गाउँपालिका अध्यक्ष खड्क सुनुवार,संयोजकमा उपाध्यक्ष राधिका श्रेष्ठ नेवार,सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश सुवेदी र सदस्यहरुमा क्रमश : गाउँपालिकाका योजना शाखा प्रमुख विश्वास ज्ञवाली,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मिरा नेपाली,कृषि शाखा प्रमुख  रेश्मा थापा मगर,खानेपानी तथा सरसफाई शाखा प्रमुख कृष्ण श्रेष्ठ,पशुपक्षिं तथा मत्स्य विकास शाखा प्रमुख लोक प्रसाद फुयाँल,सामाजिक विकास समितिका ५ नम्बर वडाका वडाध्यक्ष बलराम खड्का,वडा नम्बर ३ का वडाध्यक्ष नर विक्रम काकी र कार्यपालिका सदस्य लोक कुमारी गुवाजुको सदस्यतामा कार्यदल गठन गरिएको छ ।

उक्त गठित कार्यदलले  विषयगत समितिमा छलफल गरी प्राथामिकतामा पार्न पहल गर्ने,विषयगत समितिले सो योजना बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पठाउनका लागि पहल गर्ने,पारित भएका योजना र बजेटलाई नियम अनुसार सम्बन्धित कार्यालय,ईकाइबाट गरीने प्रतिवेदन सम्बन्धित तहमा पेश गर्ने काम गर्नेछ ।  कार्यक्रमको समापनमा बोल्दै गाउँपालिका प्रमुख खड्क बहादुर सुनुवारले हरेक बालबालिकाको विकासका लागि घर परिवार बाट नै  महत्वपुर्ण भुमिका निर्वाह हुनु पर्ने बताउनु भयो । यदि दिगो विकास लक्ष्य प्राप्त गर्ने हो भने प्रारम्भिक बाल विकासका कार्यक्रहरुमा  लगानी गर्नुपर्नेमा समेत अध्यक्ष सुनुवारले जोड दिनु भयो ।

आजै हामीले प्रतिवद्धता गरौँ कि “ गर्भावस्थादेखी आठ वर्षका सबै बालबालिकाको सर्वोत्तम हित तथा सर्वाङ्गीण विकासको अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकार,राजनैतिक दल जनप्रतिनिधि,सेवा प्रदायक संस्था,विद्यालय,अभिभावक,शिक्षा प्रेमी सञ्चार क्षेत्र तथा नागरिक समाजबाट लगानीका लागि आपसी समन्वयमा सक्रिय भुमिका निर्वाह गर्नेछौँ । ” भनि प्रतिबद्दता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा गोकुलगंगा गाउँपालिका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु,कार्यापालिका सदस्य,पालिकाका शाखा प्रमुख तथा प्रतिनिधिहरु , पालिका स्तरका कर्मचारीहरु,सदस्यहरु,प्रधानाध्यापक,वडा सचिवहरु,सञ्चारकर्मी,बाल सन्जालका अध्यक्षको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार