रामेछापका २ पालिका सहित वाग्मतीका २८ वटा स्थानीय तहले लालपुर्जा वितरण गर्ने

रामेछापका २ पालिका सहित वाग्मतीका २८ वटा स्थानीय तहले लालपुर्जा वितरण गर्ने

भूमि सम्बन्धि समस्या समाधान आयोग काठमाडौंले वाग्मती प्रदेशका २८ वटा स्थानीय तहसँग लालपुर्जा वितरणका लागि सम्झौता गरेको छ । लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले पहिलो चरणमा ती स्थानीय तहसँग हेटौंडामा सम्झौता गरेको हो । भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले जानकारी दिए । सम्झौता भएका स्थानीय तहहरुमा रामेछापको खांडादेवी गाउँपालिका , सुनापाती गाउँपालिका सहित सिन्धुलिको कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, हरिहरपुरगढि गाउँपालिका, गोलन्जोर गाउँपालिका, काभ्रेको रोशी गाउँपालिका, बेथान्चोक गाउँपालिका, तिमाल लगायतसँग सम्झौता गरेको आयोगका अध्यक्ष ज्ञवालीले बताउनुभयो । सम्झौता पत्रमा आयोगका तर्फबाट आयोगका उपसचिव वसन्तप्रसाद पन्थी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले हस्ताक्षर गरेका छन् । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका भौतिक योजनामन्त्री रामेश्वर फुयाँल, प्रदेशको प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको थियो । आयोग अध्यक्ष देविप्रसाद ज्ञवालीले पहिलो चरणमा १८६ वटा पालिकासँग सम्झौता हुने जानकारी दिँदै असारभित्र नतिजा आउने गरी काम गर्न स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार