कोरोना उपचारबाट पन्छियो सरकार, परीक्षण र उपचारको खर्च अब आफैले व्यहोर्नुपर्ने

कोरोना उपचारबाट पन्छियो सरकार, परीक्षण र उपचारको खर्च अब आफैले व्यहोर्नुपर्ने

सरकारले कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णयपछि सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबार (हिजो) देखि नै लागू भएको हिजो नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभएको हो ।

संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत सरकारले यस्तो निर्णय गरेको हो । असोज १९ गतेको मन्त्रीपरिषद्को निर्णय हिजो मात्रै सार्वजनिक भएको हो । हिजो नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले भन्नुभयो, ‘ नेपाल सरकार मन्त्रीपरिषद्को असोज १९ गतेको निर्णय अनुसार आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरू, असहाय एकल महिला, अत्ति अपाङ्गता भएका नागरिकहरू, वेष्ठ नागरिक, अग्र पङ्तिमा खटिने स्वास्थ्यकर्मीहरू, सरसफाइ कर्मचारीहरू, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिनेछ ।

तर उल्लेखित व्यक्तिहरूले कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमा रकमबाट व्यहोरिने छ । अन्य सबै किसिमका व्यक्तिहरूको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ ।’ सर्वोच्चका न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले गत मंगलबार स्पष्ट रूपमा कोरोना परीक्षणलगायत सेवाका लागि सरकारी स्वास्थ्य निकायमा कुनै पनि शुल्क नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । जनस्वास्थ्य ऐनमा सरुवा रोगलाई आधारभूत स्वास्थ्य सेवामा राखिएको भन्दै कोरोना संक्रमणसँग सम्बन्धित सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने भनी आदेश गरिएको थियो । स्वास्थ्य मन्त्रालयले नै कोरोना भाइरस रोगलाई सरुवा रोग भनी स्वीकार गरेकाले प्रवर्द्धनात्मक, प्रतीकारात्मक, निदानात्मक, उपचारात्मक र पुनःस्थापनात्मक सबै प्रकारका सेवा निःशुल्क हुनुपर्ने भनी सर्वोच्चबाट व्याख्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार