वाग्मती प्रदेशको कोरोना खर्च ४८ करोड २८ लाख

वाग्मती प्रदेशको कोरोना खर्च ४८ करोड २८ लाख

वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म ४८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत पुँजीगत र चालु गरी ३४ करोड ६१ लाख रुपैयाँ खर्च गरिएको छ । मन्त्रालयले १३ करोड ६७ लाख रुपैयाँ स्थानीय तहहरुलाई निकासा गरेको छ । मन्त्रालयले गत असार मसान्तसम्ममा १८ करोड ८० लाख रुपैयाँ खर्च गरेपनि साउनयता थप १५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रदेशका सबै स्थानीय तहहरुलाई गत जेठ महिनामै निकासा गरिएको १३ करोड ६७ लाख रुपैयाँको खर्च विवरण भने आइसकेको छैन । प्रदेशले महानगरपालिकालाई ६० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १२ लाख, गाउँपालिकालाई ८ लाख र जिल्ला विपद व्यवस्थापन समितिलाई ५ लाखका दरले रकम निकासा गरेको थियो । प्रदेश सरकारले ४० लाख रुपैयाँको कोरोना रोकथाम तथा नियन्त्रण कोष खडा गरेको थियो ।

कोषमा ४४ करोड ४० लाख रुपैयाँ जम्मा भएकोमा सोही कोषबाट मात्र २९ करोड ४८ लाख रुपैयाँ खर्च भएको बागमती प्रदेशका मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कोरोना कोषमा विभिन्न निकायका पदाधिकारी र कर्मचारीले गरी २ करोड २२ लाख ४३ हजार र बैंक तथा संघसंस्थाबाट १ करोड ९७ लाख २ हजार रुपैयाँ जम्मा भएको थियो । अब कोरोना कोषमा १४ करोड ९३ लाख २४ हजार रुपैयाँ मात्र बाँकी रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार