अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको आग्रह

अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको आग्रह

सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका नआउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै यस्तो आग्रह गरेको हो । कोभिड–१९ सम्बन्धी नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अत्याआवश्यक काम नपरि उपत्यकामा सकभर कोही पनि नआउन आग्रह गर्नुभयो ।

उपत्यकामा यतिबेला सङ्क्रमणको दर बढीरहेको भन्दै सकभर काठमाडौं नआउन र आउनै परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर मात्र आउन प्रवक्ता डा. गौतमले आग्रह गर्नुभएको हो । पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। पछिल्लो २४ घण्टामाकाठमाडौंउपत्यकामा ११ सय७७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमितमध्ये काठमाडौँमा १हजार १, ललितपुरमा १ सय ९ र भक्तपुरमा ६७ जना रहेका छन् ।गत २४ घण्टामा देशभर २ हजार १ सय २० जनामा कोरोना सङ्क्रमित थपिएका छन् । १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै सङ्क्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ । यस्तै हिजो थप ८ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित मृतकको संख्या ५ सय २८ पुगेको छ । अहिले देशभर २१ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको मन्त्रालयका प्रवक्ता गौतमले बतउनुभयो ।भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ थियो । १७ असोजमा आइपुग्दा यो संख्या बढेर ५ सय २८ पुगेको छ । अर्थात् पछिल्लो १७ दिनमा मात्र १सय४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार