रामेछाप नगरपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप नगरपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप नगरपालिकाका २७ वर्षकी एक महिलामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । हाल संक्रमित महिला काठमाडौँमा बस्दै आएका छन् । उनी करिब १ वर्ष पहिले जिल्लाबाट काठमाडौं गएको स्वास्थ्य कायालय रामेछापले जनाएको छ ।

२४ घण्टामा ८ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण

पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८ सय ८५ जनामा सङ्क्रमण देखिएको हो । आज सम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । कोरोना भाइरस सङ्क्रमण निको भएर ३ सय ८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार ५ सय ४ जना निको भएर घर फर्किएका छन् । हालसम्म होम आइसोलेसन अर्थात घरमा नै ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् । यसैबीच, काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना सङ्क्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार