विदेशमा रहेका नेपालीको उद्दार उडान आजबाट फेरि सुरु

विदेशमा रहेका नेपालीको उद्दार उडान आजबाट फेरि सुरु

वैदेशिक रोजगारीका क्रममा रहेका र अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने काम आजबाट फेरि सुरु हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्दार उडान आजबाट सुरु हुने भएको छ । पर्यटन तथा नागरिक उडयन मन्त्रालयका अनुसार आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्दार गरिने तालिका बनाइएको छ । नयाँ तालिका अनुसार आज साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । भोलि आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । पर्सी ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उद्दार उडान गर्नेछन ।

१६ गतेसम्म कुन देशबाट कति यात्रु ल्याउने भन्ने तालिका बनाइएको छ । टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन । अब नेपाल आउने यात्रुले अनिवार्य रूपमा पीसीआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ । उडान हुने समयभन्दा ७२ घण्टाअघि आएको रिपोर्टमात्र मान्य हुने व्यवस्था छ । नेपाल आइसकेपछि सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, संयुक्त राष्ट्रसङ्घ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान खोलिने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार