नोबेल कोरोना भाइरसको महामारीका कारण बिभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु भएको छ । विदेशमा अलपत्र नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आगामी १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान जारी रहने छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन अपेक्षा गरिएको छ । सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा र हिमालय एयरलाइन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरलाई पनि अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरले पनि उडान भर्नेछन् । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ आएको प्रमाणपत्र बुझाउनुपर्नेछ । बिभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूका अनुसार कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहना व्यक्त गरेका छन् ।