नेपालमा कोरोना कारण ९१ जनाको मृत्यु

नेपालमा कोरोना कारण ९१ जनाको मृत्यु

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर आठ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मात्र पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार टेकुका ७८ वर्षका महिलाको आज बिहान किस्ट हस्पिटलमा मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिकाका ७१ वर्षका पुरुषको मेडिसिटी अस्पतालमा आज मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिकाकै ३८ वर्षका महिलाको पाटन अस्पतालमा आज बिहान ज्यान गएको हो । यसैगरि बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षका पुरुषको किस्ट अस्पतालमा मृत्यु भएको छ । मोरङको बुढिगंगा नगरपालिकाका ५५ वर्षका महिलाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ भने सप्तरीको डाक्रेश्वरी नगरपालिकाका ७२ वर्षका महिला र कपिलबस्तु नगरपालिकाका ४२ वर्षका पुरुषको पनि पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना कारण ९१ जनाको मृत्यु भएको छ ।

उपत्यकामा एक सय ३९ सहित देशभर चार सय ८४ जनामा कोरोना

काठमाडौं उपत्यकामा आज एक सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र एक सय नौ जना सङ्क्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा नौ जना सङ्क्रमित थपिएका हुन् । कोरोना सङ्क्रमित कुन–कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । आज मात्र नेपालमा चार सय ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार चार सय ८१ जनाको परीक्षण गर्दा चार सय ८४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २४ हजार चार सय ३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १६ हजार सात सय २८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार