कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखापरेका थप तीन जनाको मृत्यु

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखापरेका थप तीन जनाको मृत्यु

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर घरमा नै क्वारेन्टाइनमा बसेका एक जना र नीजि अस्पतालमा उपचार गराउँदै आएका अन्य दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षका पुरुषमा हिजो एक्कासी ज्वरो आएको र श्वास फेर्न समस्या भएपछि उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धरान रेफर गरिएको र उनको बाटोमै मृत्यु भएको अस्पतालका प्रमुख डा रञ्जीत झाले बताउनुभयो ।

मृत्युपछि उनको शवलाई परिवारले घर लगेपछि स्वाब संकलनका लागि टोली पठाइएको पनि डा झाले बताउनुभयो । यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षका र राजगढ गाउँपालिकाका ७१ बर्षका पुरुष रहेका छन् । उनीहरुको पनि स्वाब संकलन गरी जाँचका लागि पठाइएको र कोरोनाको नतिजा आउन बाँकी रहेको डा झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार